वीरगञ्जका सडकपीडित घरधनी माइतीघरमा, न्याय र क्षतिपूर्तिको माग

NEWS DESK
२०८३ कार्तिक १५, आइतवार १८:१९ बजे

वीरगञ्ज। त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

‘वीरगञ्ज मुख्य सडकवासी पीडित समिति’को ब्यानरमा आइतबार दिउँसो करिब २ बजे भेला भएका उनीहरूले सर्वोच्च अदालत र नेपाल सरकारसँग न्याय तथा उचित क्षतिपूर्तिको माग गरेका हुन्।

वीरगञ्जबाट काठमाडौँ पुगेका घरधनी राजेश सौनियार, जवाहीर प्रसाद गुप्ता, कुन्दन रौनियारलगायतले विभिन्न माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागिता जनाएका थिए।

प्रदर्शनकारीहरूले त्रिभुवन राजमार्गअन्तर्गत काठमाडौँ–हेटौँडा खण्ड र वीरगञ्ज खण्डका विषयमा सर्वोच्च अदालतबाट फरक–फरक फैसला आएको भन्दै आपत्ति जनाएका छन्। एउटै राजमार्गमा पर्ने क्षेत्रका लागि फरक मापदण्ड अपनाइएको उनीहरूको आरोप छ।

‘एउटै त्रिभुवन राजमार्गमा सर्वोच्च अदालतको फैसला फरक–फरक किन ?’ भन्दै उनीहरूले राज्यको विभेदकारी व्यवहार अन्त्य गर्न माग गरेका थिए।

प्रदर्शनमा सहभागी घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको र दशकौँदेखि नियमित रूपमा राज्यलाई कर बुझाउँदै आएको दाबी गरेका छन्। उचित मुआब्जा तथा क्षतिपूर्ति नदिई घर तथा सम्पत्ति हटाउन खोजिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

उनीहरूले वीरगञ्जका सडक किनारका घरधनीलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन, संविधानले सुनिश्चित गरेको आवास तथा सम्पत्तिको मौलिक हक संरक्षण गर्न र वीरगञ्जवासीप्रति विभेदकारी नीति तथा निर्णय बन्द गर्न माग गरेका छन्।

माइतीघरमा प्रदर्शनकारीहरूले ‘न्याय देऊ, न्याय देऊ’ र ‘नेपाल सरकार वीरगञ्जवासीलाई न्याय र क्षतिपूर्ति देऊ’ लगायतका नारा लगाएका थिए।

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै उनीहरूले नागरिकको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्