काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम राजदूत नियुक्तिको सिफारिसबाट फिर्ता लिने निर्णय गरेका छन्। स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि उनले संसदीय सुनुवाइ समितिलाई नाम फिर्ता लिन लागेको जानकारी गराएका हुन्।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले समितिमा उपस्थित नहुने र नाम फिर्तासम्बन्धी निवेदन पठाउने जानकारी दिएका छन्। कानुनी रूपमा समस्या नरहेको भए पनि स्वार्थको द्वन्द्वको विषय उठेकाले उनले नाम फिर्ता लिन लागेको सभापति श्रेष्ठले बताएका छन्।
गत असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापाको नामबारे थप अध्ययन गर्नुपर्ने भन्दै समितिले निर्णय स्थगित गरेको थियो। जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषय सार्वजनिक भएपछि सांसदहरूले उनको योग्यता र नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाएका थिए।
सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, नेपालको संविधानको धारा २९१ र पीआर त्यागेको अवधिलाई लिएर सांसदहरूले थप प्रश्न उठाएका थिए।
सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका १३ जनामध्ये संसदीय सुनुवाइ समितिले असोज २८ गते १० जनाको नाम अनुमोदन गरेको थियो।
त्यस्तै, साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो।
थापाले नाम फिर्ता लिने निर्णय गरेसँगै जापानका लागि नेपाली राजदूत नियुक्तिको प्रक्रिया नयाँ मोडमा पुगेको छ।


तपाईको प्रतिक्रिया !