सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार ०९:३३ बजे

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा मन्त्रालयले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको हो ।

यसअघि आयोजनाको ठेक्का प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटि भएको पाइएपछि सरकारले खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।

आयोजनाको प्राविधिक प्रस्ताव स्वीकृत भइसकेको र सोमबार आर्थिक प्रस्ताव खोल्ने कार्यतालिका तय भएको अवस्थामा कानुनी व्यवस्थाको पालना नभएको देखिएपछि सरकारले शुक्रबार ठेक्का प्रक्रिया रद्द गरेको थियो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, आयोजना प्रमुख कृष्णप्रसाद रिजाल तथा आयोजनाका इन्जिनियरहरूको सहभागिता रहेको थियो ।

यसैबीच, आयोजना अनुगमनका लागि सिरहा पुगेका सिँचाइ विभागका महानिर्देशक रजौरिया र आयोजना प्रमुख रिजाललाई प्रधानमन्त्रीको सचिवालयबाट बिहीबार भएको निर्देशनअनुसार नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको थियो ।

सरकारले संशोधित कानुनी व्यवस्थाअनुसार ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएसँगै लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय गौरवको सुनकोशी–मरिण आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्