सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी पर्यटकको मृत्यु, एक घाइते

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार १०:०४ बजे

काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा अवतरण गर्ने क्रममा दुई वटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटना बिहान ८ बजेर ११ मिनेटमा भएको हो । दुर्घटनामा मृत्यु भएका विदेशी पर्यटकको पहिचान खुल्न सकेको छैन ।

घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रारम्भिक जानकारीमा दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएको बताइएको छ । घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा परेका हेलिकोप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको अवस्था र घाइतेको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्