काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदैछ। यस अवसरमा नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्परा छ।
धनतेरसका अवसरमा आज बिहानदेखि नै सुनचाँदी तथा धातुका सामग्री खरिद गर्ने चलन रहेको छ। मिथिला क्षेत्रमा भने कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन साँझ दीपमालिका गर्ने परम्परा पनि छ। यस दिन भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायतका सामग्री खरिद गर्नुलाई शुभ मानिन्छ।
यस वर्ष तिथिको घटबढका कारण पाँच दिन मनाइने तिहार पर्व ६ दिनसम्म चल्ने भएको छ। कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार मनाइनेछ। आइतबार बिहान कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। कात्तिक २५ गते भाइटीका परेको छ।
आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथि सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो। त्रयोदशी तिथि आज बिहान ११ बजेर १० मिनेटपछि सुरु भई भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
यसैबीच, धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्रीलाई निरन्तरता दिएको छ। बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट हिजोदेखि सुरु गरिएको सिक्का बिक्री आज पनि जारी रहनेछ।


तपाईको प्रतिक्रिया !