कागजमा सुन्तला, ट्रकमा केरा ! वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार १९:५३ बजे

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। एउटै आयातकर्ताका नाममा जाँचपास भएका थप दुई भारतीय ट्रकसमेत शंकाको घेरामा परेपछि घटनाको अनुसन्धान थप पेचिलो बनेको छ।

वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास भएर काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकलाई काठमाडौँको जडीबुटीस्थित प्रहरीले नियन्त्रणमा लिएपछि अवैध आयातको घटना बाहिर आएको हो।

वीरगञ्ज महानगरपालिका–२५ श्रीसियास्थित आरोही इन्टरप्राइजेजका नाममा जाँचपास भएको भारतीय ट्रक नम्बर UP 25 FT 3659 लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

ट्रकको भौतिक जाँच गर्दा बाहिरी भागमा सुन्तलाका क्यारेट राखिएको र भित्री भागमा केरा लुकाएर ल्याइएको अवस्थामा फेला परेको बताइएको छ। भन्सार प्रज्ञापनपत्रमा ७.६ मेट्रिक टन अर्थात् ४०० क्यारेट सुन्तला उल्लेख भए पनि ट्रकमा थप २०० क्यारेट केरा फेला परेको थियो। बरामद केराको परिमाण करिब एक हजार ८०० दर्जन रहेको जनाइएको छ।

पहिलो ट्रक नियन्त्रणमा परेको खबर सार्वजनिक भएपछि सोही आयातकर्ता आरोही इन्टरप्राइजेजका नाममा भन्सार प्रक्रिया पूरा गरी गेटपाससमेत लिइसकेका थप दुई भारतीय ट्रक वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरको पार्किङमा छाडिएको बताइएको छ। MH30CE0083 र UK04CC2831 नम्बरका ती ट्रकका चालक तथा प्रतिनिधि गाडी छाडेर फरार भएको स्रोतको दाबी छ।

घटनापछि आईसीपीले ती दुवै ट्रकलाई निगरानीमा राख्दै पुनः जाँच, नापजाँच तथा तौल यकिन गर्ने तयारी गरेको छ। ती ट्रकमा कुन वस्तु र कति परिमाणमा सामान लोड गरिएको छ भन्नेबारे भने अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन।

नियन्त्रणमा लिइएको ट्रकका चालक भारतको उत्तर प्रदेश निवासी धनिराम राजपुतलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। बरामद फलफूलको लिलामी प्रक्रिया अगाडि बढाउने तयारीसमेत भइरहेको जनाइएको छ।

यस घटनाले वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। भन्सार कागजातमा सुन्तला उल्लेख हुँदा ट्रकभित्र केरा कसरी फेला पर्‍यो ? भौतिक परीक्षणका क्रममा सामानको प्रकृति र परिमाण किन यकिन गरिएन ? जाँचपास गर्ने कर्मचारीको भूमिका के थियो ? अहिले यी प्रश्नहरू चर्चामा छन्।

विशेषगरी एउटै आयातकर्ताका नाममा जाँचपास भएका तीनवटा ट्रकमध्ये एउटा ट्रकमा कागजातभन्दा फरक सामान फेला पर्नु र अन्य दुई ट्रकका चालक तथा प्रतिनिधि फरार हुनु सामान्य घटना मान्न सकिँदैन। यसले योजनाबद्ध रूपमा गलत विवरण पेस गरी प्रतिबन्धित वस्तु आयात गर्ने प्रयास भएको हुन सक्ने आशंका बढाएको छ।

त्यसैले अनुसन्धानलाई ट्रक चालक र आयातकर्तामा मात्र सीमित नगरी भन्सार प्रज्ञापनपत्र तयार गर्ने, सामानको भौतिक परीक्षण गर्ने, जाँचपास स्वीकृत गर्ने र गेटपास जारी गर्ने प्रक्रियामा संलग्न सबै पक्षको भूमिका सूक्ष्म रूपमा छानबिन गर्नुपर्ने देखिन्छ।

केवल चालकलाई नियन्त्रणमा लिएर वा बरामद फलफूल लिलामी गरेर मात्रै यस्तो घटना टुंग्याउनु पर्याप्त हुँदैन। सम्भावित राजस्व चुहावट, भन्सार कर्मचारीको संलग्नता र अवैध आयातमा सक्रिय हुन सक्ने सञ्जाल पहिचान गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ।

वीरगञ्ज भन्सार मुलुकको प्रमुख व्यापारिक नाका भएकाले यहाँको जाँचपास प्रणालीमा देखिने कमजोरीले राज्यको राजस्व र भन्सार प्रशासनको विश्वसनीयतामै असर पार्न सक्छ। त्यसैले यस प्रकरणको निष्पक्ष र पारदर्शी अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्