बिरगंज , २ भदै । बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सबैको साथले मात्रै बिरगंजलाई व्यवस्थित बनाउन सकिने बताउनु भएको छ ।
बिरगंज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई तनाव व्यवस्थापन सम्बन्धी ‘नयाँ चेतनाकाे उदय’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा मेयर सिंहले कर्मचारीहरु आफ्नो परिवार रहेकाले कसैलाई काखा कसैलाई पाखा गर्ने काम नहुने बताए ।उनले भने, ‘मेयर साहेवले आफ्नो मान्छेलाई काखी च्यापेको अन्यलाई पाखा लगाएको भन्ने खालको कुरा मैले सुनिरहेको छु तर मेरो कार्यकालमा कसैलाई काखा, कसैलाई पाखा हुँदैन, त्यस्तो कुरामा तपाईहरु नलाग्न म आग्रह गर्दछु ।’
कुनै कर्मचारीले आफ्नो शाखामा उत्कृष्ठ काम गर्छ भने उसलाई अन्य ठाउँमा पनि उत्कृष्ठ काम गर्नका लागि पठाइएको हो त्यसलाई अन्यथा नलिन उनले आग्रह गरे।एक ठाउँलाई मात्र राम्रो गरिराख्ने भन्दा पनि सबै शाखा सबै माताहतका कार्यालय उत्कृष्ट बने महानगरको सेवा प्रवाह झनै व्यवस्थित हुने भएकाले सरुवा नियमित हो भनेर बुझ्न कर्मचारीहरुलाई सिंहले आग्रह गरे ।
उनले भने ‘कर्मचारी सबै मेरो परिवारका सदस्य हुनुहुन्छ, तपाईहरुलाई कुनै समस्या परे सोझै मसँग आउनुस, हुलाकबाट रजिष्ट्रि गरेर चिठि पठाउन पर्दैन,’ ।
बिरगंज महानगरपालिकाका सद्भावना दूत अशोक कुमार बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा समर्पण सेवा संस्था नेपालकाक संस्थापक सदस्य समेत रहेका मोटिभेसनल स्पीकर रमेश शर्मा, नविल बैंकका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहले सहभागिहरुलाई तनाव व्यवस्थापन र सेवा प्रवाहमा नागरिक संवेदनशील प्रशासनको प्रवर्दनका विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी संजय खेतान, वीरगन्ज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।