
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ। निर्वाचन आउन अझै केही वर्ष बाँकी रहे पनि रुपेश कुमार पाण्डेयलाई स्थानीय नागरिकहरूले ‘उदाउँदो वैकल्पिक नेता’का रूपमा लिन थालेका छन्। विगतदेखि नै पुराना नेताहरू सांसद तथा मन्त्री बने पनि नागरिकहरूको सुख–दुःखमा साथ नदिएको र क्षेत्रको विकासमा कुनै ठोस प्रगति गर्न नसकेको गुनासो गर्दै स्थानीयहरू आगामी २०८४ सालको निर्वाचनका लागि पाण्डेयलाई साथ दिन थालेका छन्।
पाण्डेयले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। स्थानीयहरूले उनलाई ‘भिजनरी नेता’का रूपमा चिन्दै गएका छन्। धेरैजसो नागरिकले आगामी निर्वाचनमा पाण्डेय नै वैकल्पिक नेता भएर उदाउने विश्वास व्यक्त गरिरहेका छन्। उनीहरूमध्ये धेरैले हाल सो क्षेत्रमा पाण्डेयको कुनै विकल्प नरहेको बताएका छन्।
वि.सं. २०४७ सालदेखि दोहोरिइरहेका उम्मेदवारहरूबाट निराश भएका जनता अब नयाँ पुस्ताको नेतृत्व चाहिरहेका छन्। पाण्डेयको उम्मेदवारी घोषणा हुनुअघि नै स्थानीय नागरिकहरूले उनलाई साथ दिनुपर्ने धारणा राख्दै आएका छन्। नागरिकहरूको यही साथका कारण पाण्डेय पनि समाजलाई आधुनिक र व्यवस्थित शहरको रूपमा विकास गर्ने, पूर्वाधार निर्माण गर्ने, स्थानीय उत्पादनलाई व्यावसायिक बनाउने तथा नागरिकको जीवनस्तर सुधार्ने लक्ष्यसहित काम गरिरहेका छन्।
यसैले, अहिले नै पाण्डेयप्रति जनताको समर्थन बढ्दै गएको देखिन्छ। स्थानीय नागरिकहरूले उनलाई उम्मेदवार मात्र नभई भविष्यको सांसदका रूपमा समेत विश्वास गर्न थालेका छन्। चाहे चिया पसल होस् वा अन्य सामाजिक जमघट, युवाहरूबीच पाण्डेयको पक्षमा चर्चा चुलिँदै गएको छ। यद्यपि, पाण्डेयले कुन पार्टीबाट चुनाव लड्ने भन्ने स्पष्ट गरेका छैनन्। तर, विभिन्न पार्टीका कार्यकर्ताहरूले उनी जुनसुकै पार्टीबाट उठे पनि जित्नुपर्ने धारणा राखेका छन्।
पाण्डेयको सक्रियता र समाज परिवर्तनको हुटहुटीलाई आमनागरिकले साथ दिइरहेका छन्। उनी पछिल्लो समयमा आफ्ना गाउँठाउँका जनताको दुःख–पीडा बुझ्नमा व्यस्त देखिन्छन्। सबै धर्मको सम्मान गर्दै भक्तिभाव प्रकट गर्दै आएका पाण्डेय सबै वर्गका नागरिकका मनमा बस्न सफल भएका छन्। विगतमा व्यवसायमा सक्रिय रहँदा पनि उनीप्रति जनताले सकारात्मक धारणा बनाएका थिए।
उनले पोखरिया, पकाहाँ, महुवन र चीपुर पंचगाका बजारलाई व्यवस्थित गर्ने तथा यस निर्वाचन क्षेत्रमा पर्ने धार्मिक स्थल ‘भाडा भगवान स्थल’लाई राष्ट्रिय निकुञ्जसँग समन्वय गरी व्यवस्थित गर्ने योजना बनाएका छन्। पोखरिया बजारको समग्र विकासका लागि उनले आफ्नै भिजन तयार पारेको बताएका छन्।
साथै, मठ–मन्दिरको संरक्षण, कृषि आधुनिकीकरण, प्रविधिको प्रयोग, शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँचलाई प्रमुख मुद्दा बनाएर अघि बढ्ने उनको लक्ष्य छ। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मानिकपुरका स्थायी बासिन्दाहरूले पाण्डेयको भिजन र क्रियाशीलताका कारण अहिले उनको विकल्प देखिएको छैन भन्ने धारणा राखेका छन्।
पाण्डेय हाल आफ्नो राजनीतिक तथा सामाजिक भेटघाटमा सक्रिय छन्। क्षेत्रका नागरिकहरूलाई भेट्ने, उनीहरूका समस्या बुझ्ने र तिनको समाधानका लागि योजना बनाउने कार्यमा उनी व्यस्त छन्। स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूको आशीर्वाद र युवाहरूको साथ लिएर उनी निर्वाचनमा उठ्ने तयारीमा छन्।
उनले आफ्नो सक्रियता, लगनशीलता र जनताको विश्वासलाई आधार बनाएर निर्वाचन क्षेत्रमा पर्ने ७ स्थानीय तह र ३५ वटा वडालाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन्।
पर्सा जिल्लामा प्रत्यक्षतर्फ ४ जना प्रतिनिधिसभा सदस्य र ८ जना प्रदेशसभा सदस्य छन् भने समानुपातिकतर्फ छुट्टै सांसदहरू पनि रहेका छन्। यति धेरै प्रतिनिधि तथा मन्त्रीहरू भए पनि जिल्लामा विकासले गति लिन सकेको छैन। संघीय सरकारमा ३ जना मन्त्री र प्रदेश सरकारमा २ जना मन्त्री रहँदासमेत जिल्लामा खासै परिवर्तन नभएको नागरिकहरूको गुनासो छ। त्यसैले, स्थानीय नागरिकहरू वैकल्पिक नेतृत्व खोज्न बाध्य भएको बताइरहेका छन्।