
वीरगंज । पर्सा जिल्लाको सदरमुकाम वीरगंजसहित आसपासका क्षेत्रहरूमा हरेक वर्ष गम्भीर रूपमा देखिँदै आएको खानेपानी संकट समाधानका लागि नेपाल सरकारका दुई मन्त्री यही असार ३० गते पर्सा आउने भएका छन्।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादव पर्सा जिल्लामा स्थलगत निरीक्षण तथा सरोकारवालासँग छलफल गर्न आउन लागेका हुन् । मन्त्रीद्वयको सचिवालयका अनुसार समस्या दीर्घकालीन भएकोले अब ट्याङ्कर पानी मात्रले समाधान नहुने र यसका लागि दिगो समाधानतर्फ गम्भीर प्रयास आवश्यक रहेको जनाइएको छ ।
प्रत्येक वर्ष जेठदेखि साउनसम्म चापाकलहरू सुक्ने, भू-जलको सतह घट्ने र वर्षाको आशामा जनताले धैर्य गर्नुपर्ने अवस्थाले स्थानीय जनताको जनस्वास्थ्य र दैनिकीमा असर पुर्याइरहेको छ।
सचिवालयका अनुसार यसपटक स्थानीय अगुवा, जनप्रतिनिधि, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायहरूको सहभागितामा दीर्घकालीन योजना बनाइने र सोही आधारमा छिटोभन्दा छिटो कार्यान्वयन सुरु गरिनेछ।
खानेपानी मन्त्रालयको प्राविधिक टोली पनि मन्त्रीहरूसँगै आउने तयारीमा रहेको छ। समस्या पहिचान गर्दै दीर्घकालीन पूर्वाधार निर्माण, भू-जल संरक्षण, वैकल्पिक स्रोतहरूको उपयोग लगायत उपायहरूमा छलफल गरिने बताइएको छ।
स्थानीयबासीले पनि यसपालिको भ्रमणबाट ठोस कार्ययोजना र प्रभावकारी समाधानको अपेक्षा राखेका छन् ।