वीरगंज, ३२ असार । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–१ अन्तर्गतको भलुवहिया टोलका बासिन्दाहरू लामो समयदेखि मोबाइल नेटवर्कको चरम अभावका कारण संचार सेवाबाट वञ्चित हुँदै आएका छन्।
मोबाइल टावरको अभावका कारण भलुवहिया टोलका बासिन्दाहरूले न त फोनमार्फत सहज रूपमा कुरा गर्न सक्छन्, न त इन्टरनेट सेवाको प्रयोग गर्न। स्थानीय मनबोध यादवले भने, “फोन बोल्दाबोल्दै काटिन्छ, इन्टरनेट त झन् चल्दैन।”
टावरको अभावमा संचार सेवा प्रभावित हुँदा दैनिक जीवनमा समेत असर परेको छ। स्थानीयहरूका अनुसार फोन सम्पर्क गर्न घर बाहिर निस्कनुपर्ने बाध्यता छ। “टावर खोज्दै गाउँभरि घुम्नुपर्छ, फोन गर्नु महँगो सपना जस्तै भएको छ,” एक स्थानीयले दुखेसो गरे।
भलुवहिया मात्र नभई छिपहरमाई गाउँपालिकाका अन्य टोलहरूमा पनि मोबाइल नेटवर्कको समस्या समान रहेको पाइन्छ। कतिपय ठाउँमा टावर नै नहुनु समस्या हो भने, रहेका टावरहरूमा सेवा अत्यन्तै कमजोर देखिएको छ।
स्थानीयहरूले विभिन्न समयमा दूरसञ्चार कम्पनीहरू तथा सम्बन्धित सरकारी निकायमा टावर जडानका लागि आग्रह गर्दै आएका छन्। तर अहिलेसम्म कुनै प्रभावकारी पहल नभएको उनीहरूको आरोप छ।
मोबाइल सञ्जालको अभावले शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा, बैंकिङ्गलगायतका डिजिटल सेवामा पहुँच कठिन बनाएको छ। यस समस्याले जनजीवन प्रभावित पार्न थालेपछि स्थानीयवासीहरूले संघीय सरकारदेखि सम्बन्धित निकायसम्म ध्यानाकर्षण गराएका छन्।
उनीहरूले छिपहरमाई गाउँपालिकाको भलुवहिया लगायतका क्षेत्रमा चाँडोभन्दा चाँडो मोबाइल टावर जडान गरी संचार सेवा सहज बनाउन माग गरेका छन्।