एसपी राधेश्याम धिमालको नेतृत्वमा सशस्त्र प्रहरी पर्साद्वारा ऐतिहासिक सफलता, २९ करोडको अवैध सामान नियन्त्रण



वीरगंज, ३ साउन। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालको कुशल नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा सीमावर्ती सुरक्षा, अवैध कारोबार नियन्त्रण र लागूऔषध विरुद्धको अभियानमा ऐतिहासिक सफलता हासिल गरेको छ।

वीरगञ्ज नाका हुँदै भारतबाट भन्सार राजस्व छलेर ल्याइएका अवैध सामग्री नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले एक वर्षको अवधिमा २८ करोड ९२ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामानहरू बरामद गरेको हो। बरामद सामग्रीहरूमा कपडा, हार्डवेयर, मोटर पार्ट्स, औषधि लगायतका वस्तुहरू छन्।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सबैभन्दा धेरै भदौ महिनामा ३ करोड ५६ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको थियो भने सबैभन्दा कम १ करोड ५५ लाख रुपैयाँ बराबरको सामग्री मंसिर महिनामा बरामद गरिएको हो।

बरामद गरिएका सामानमध्ये ११ करोड ९९ लाख रुपैयाँ बराबरका सामग्री पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा, बाँकी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

हुण्डी कारोबार र लागूऔषध नियन्त्रणमा पनि सफलता

एसपी धिमालको निर्देशनमा कार्यरत टोलीले स्रोत नखुलेको १ करोड १५ लाख ९० हजार रुपैयाँसहित २१ जनालाई पक्राउ गर्दै हुण्डी कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता पाएको छ।

त्यस्तै, लागूऔषध कारोबार र खेती नियन्त्रणमा पनि सशस्त्र प्रहरी बल पर्साले सक्रियता देखाएको छ। गत आर्थिक वर्षमा मात्रै ४२३ केजी गाँजा, ३९ केजी चरेस, ३.२ ग्राम खैरो हेरोइन, २ लाख २३ हजार ३९० पिस ट्रामाडोल, ६ हजार ८७६ पिस नाइट्रोभेट बरामद गरिएको छ। साथै, १६ बिघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेतीसमेत नष्ट गरिएको छ।

नेतृत्वको मेरुदण्ड – एसपी राधेश्याम धिमाल

यी सम्पूर्ण सफलताहरूको मूल नेतृत्वमा रहनुभएका एसपी राधेश्याम धिमाल सशस्त्र प्रहरी बल पर्साको सक्रिय, अनुशासित र दूरदर्शी कमाण्डरका रूपमा स्थापित भएका छन्। उनको कुशल रणनीति, जोखिम मोल्ने तत्परता र टोली निर्माण क्षमताका कारण सीमावर्ती सुरक्षामा सुधार आएको छ।

स्थानीय जनसमुदाय, व्यापारी वर्ग, पत्रकार र नागरिक समाजले एसपी धिमालको नेतृत्वमा सशस्त्र प्रहरीले गरेको कामको उच्च प्रशंसा गरेका छन्।
उनको नेतृत्व सिर्फ संस्थागत दक्षताको परिचायक मात्र नभई देश र जनताप्रतिको गहिरो उत्तरदायित्वको प्रतिविम्ब भएको व्यापक धारणा बनिरहेको छ।

पर्सा जिल्लाको सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता र एसपी धिमालको पहलकदमीले अब सीमावर्ती अपराधहरू नियन्त्रणतर्फ उल्लेखनीय प्रभाव पारिरहेको जनाइएको छ।
सशस्त्र प्रहरी बल पर्साको प्रयासलाई राष्ट्रिय सुरक्षामा उत्कृष्ट योगदानको रूपमा सम्मान गर्नुपर्ने आवश्यकता पनि व्यापक रूपमा महसुस हुन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज