पर्साको मिर्जापुर क्षेत्रमा घरेलु मदिरा खुलेआम बिक्री वितरण , राती अबेरसम्म होहल्ला, चौकीमा उजुरी



वीरगंज, पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–१ अन्तर्गत मिर्जापुर क्षेत्रमा गैरकानुनी रूपमा घरेलु मदिरा खुलेआम बिक्री–वितरण भइरहेको भन्दै स्थानीय बासिन्दाले प्रहरी चौकी मिर्जापुरमा लिखित उजुरी दिएका छन् ।

१२ जना स्थानीयले संयुक्त रूपमा दिएको निवेदनमा सो क्षेत्रको विभिन्न पसलमार्फत खुलेआम घरेलु मदिरा बिक्री हुने गरेको र यसका कारण गाउँघरमा झगडा, गालीगलौज, अश्लील शब्द प्रयोग तथा होहल्ला जस्ता अवाञ्छित गतिविधि बढेको उल्लेख छ ।

निवेदनमा बिहारमा मदिरा निषेध भएको कारण भारतीय नागरिकहरू पनि मिर्जापुर क्षेत्रमै आएर अबेर रातिसम्म मदिरा सेवन गर्ने, झगडा गर्ने र सामाजिक वातावरणमा नकारात्मक असर पार्ने गरेको उल्लेख छ । साथै, थरुहटको सोबरनपुर र वरपरका बस्तीबाट मोटरसाइकलमार्फत हरेक दिन करिब ६० लिटर घरेलु मदिरा ल्याई पसल–पसलमा आपूर्ति गरिने गरेको तथ्यसमेत उजुरीमा प्रष्ट पारिएको छ ।

यसबारे प्रहरी चौकी मिर्जापुरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) बिनोद प्रसाद साहलाई निवेदन बुझाउँदै गैरकानुनी रूपमा घरेलु मदिरा बिक्री गर्नेहरू विरुद्ध अनुसन्धान, छापा मार्ने कार्य र संलग्नलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज