
वीरगंज – १९ असोज । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब रु. ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
शनिबार सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सा, प्रसीसु गुल्म भिखम्पुर, अलौ र बिओपी मिर्जापुरबाट खटिएको २१ जनाको संयुक्त टोलीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२, आस्वारीस्थित स्थानमा उक्त चल्ला बरामद गरेको हो।
टोलीले ना.८ प.६६२४ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट लुकाइछुपाइ ल्याइएको करिब १०,००० वटा (१०० कार्टुन) प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको जनाएको छ। बरामद वस्तुको अनुमानित मूल्य करिब रु. ८,००,००० बराबर रहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।
बरामद प्रतिबन्धित चल्लाहरूलाई नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइनका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखम्पुरको पेरिमिटरभित्र खाडल खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
उनका अनुसार, उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकल भन्सार बुझाउने प्रक्रियामा रहेको छ।
सूचना अधिकारी कार्कीका भनाइमा, भारतबाट प्रतिबन्धित ब्रोइलर चल्ला लगायतका वस्तुहरू अवैध रूपमा नेपाल भित्र्याउने कार्य रोक्न सीमाक्षेत्रमा निगरानी थप कडा पारिएको छ।