वीरगंज । मधेश प्रदेश सरकारका नव नियुक्त वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीलाई आज उहाँको गृह पालिका जिराभवानी गाउँपालिकामा भव्य स्वागत गरिएको छ।
जिराभवानी गाउँपालिका वडा नं. ३ नौकाटोला चौकमा आयोजित स्वागत कार्यक्रममा वडाध्यक्ष सुरज राय थारुको सभापतित्व रहेको थियो। कार्यक्रममा मन्त्री चौधरीलाई खादा, माला तथा टीका लगाई सम्मानपूर्वक स्वागत गरिएको थियो।
सो अवसरमा बोल्दै मन्त्री चौधरीले जनताको मतको आधारमा आफू मन्त्री बनेको उल्लेख गर्दै जनताको हितमा भ्रष्टाचारमुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वर्तमान देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिन आग्रहसमेत गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश पाण्डे, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्ष राजेश्वर दास थारु, दारा सिंह राउत थारु लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी, मन्त्री चौधरीलाई जिराभवानी गाउँपालिका वडा नं. २ सेढवामा पनि भव्य रूपमा स्वागत गरिएको थियो।
बाजागाजासहित गाउँ परिक्रमा गरी आयोजना गरिएको स्वागत कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति सरोज चौरसियाको सभापतित्व रहेको थियो। कार्यक्रममा मन्त्री चौधरीलाई खादा, गम्छा, माला तथा टीका लगाई सम्मान गरिएको थियो।
यसैबीच, मन्त्री चौधरीलाई जगरनाथपुर र ठोरी गाउँपालिकामा पनि स्वागत गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।