छिपहरमाईका प्रशासन प्रमुखको फेसबुक स्टाटसले तरंग : कर्मचारी भएर खुला राजनीति, आचारसंहिता उल्लंघनको आरोप



वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाका प्रशासन प्रमुख अ.हे.ब शत्रुधन यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा लेखेका राजनीतिक टिप्पणीहरूले पर्सा जिल्लामा व्यापक चर्चा र विवाद सिर्जना गरेको छ। नेपाल सरकारका जिम्मेवार कर्मचारी भएर पनि उनले खुलेरै राजनीतिक अभिव्यक्ति दिएको भन्दै कर्मचारी आचारसंहिता उल्लंघन भएको आरोप लाग्न थालेको हो।

प्रशासन प्रमुख यादवले आफ्नो फेसबुक वालमा शनिबार दिउसो दुईवटा राजनीतिक आशय झल्किने स्टाटस सार्वजनिक गरेका छन्।

पहिलो स्टाटसमा उनले
“जय नेपाल जय नेपाल जय नेपाल… कुनै नेता को दास बनेर होइन मुटु दह्रो पारेर विशेष अधिवेशन मा सहभागी हौ युवाको चाहना यहीं हो जय नेपाल जय नेपाल जय युवा”
भन्दै नेपाली कांग्रेसको विशेष महाधिवेशन र युवा राजनीतिप्रति स्पष्ट समर्थन जनाएका छन्।

त्यसैगरी दोस्रो स्टाटसमा उनले
“आज पोखरीया मा धेरै नेताज्यू आउनु भयो अनि के प्रगति भयो… चोर चोर माउसियौत भाई कुरा त्यही हो… सावधान जनता जनार्दन होसियार अब पोल खुल्ने बेला आइसकेको हो”
भन्दै नेताहरूमाथि कडा कटाक्ष गरेका छन्। उक्त टिप्पणी पर्साको पोखरिया नगरपालिका वडा नं. ४ मा अवस्थित प्रादेशिक अस्पताल पोखरियाको समुद्घाटन कार्यक्रमसँग जोडिएको बताइएको छ।

उक्त समुद्घाटन कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल राय, भूमि व्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री प्रमोद जयसवाल लगायत प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदहरूको उपस्थिति रहेको थियो। सोही कार्यक्रमलाई लक्षित गर्दै यादवले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेको भन्दै आलोचना बढेको छ।

यसैबीच, पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशनप्रति पनि प्रशासन प्रमुख यादवले खुलेर समर्थन जनाएका छन्। उनी नेपाल सरकारका कर्मचारी हुँदाहुँदै पनि देउवा पक्षप्रति कटाक्ष र अर्काे पक्षप्रति समर्थन जनाउनु आचारसंहिता विपरीत भएको भन्दै सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठ्न थालेका छन्।

स्थानीयस्तरमा प्रशासन प्रमुखजस्तो संवेदनशील पदमा बसेका व्यक्तिबाट यसरी सार्वजनिक रूपमा राजनीतिक धारणा व्यक्त हुनु गलत उदाहरण भएको प्रतिक्रिया आइरहेको छ। कर्मचारीहरू राजनीतिक रूपमा तटस्थ रहनुपर्ने संवैधानिक व्यवस्था र कर्मचारी आचारसंहिताको स्पष्ट उल्लंघन भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने आवाज पनि उठ्न थालेको छ।

अब प्रश्न उठेको छ – 
के प्रशासन प्रमुख शत्रुधन यादवमाथि कारबाही हुन्छ?
कि यो प्रकरण पनि सामान्य विवादमै सीमित रहनेछ?

यो विषयले पर्सा जिल्लाको प्रशासनिक र राजनीतिक वृत्तलाई थप तरंगित बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज