वीरगंज । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले निर्वाचन आचारसंहिता उल्लंघन रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको भए पनि पर्सा जिल्लामा उक्त निर्देशन व्यवहारमा कार्यान्वयन हुन नसकेको गम्भीर तथ्य सार्वजनिक भएको छ।
गृह मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचनपूर्व तथा निर्वाचन अवधिमा हुनसक्ने आचारसंहिता उल्लंघन रोक्न नियमित अनुगमन, प्रभावकारी कार्यान्वयन तथा त्यससम्बन्धी विवरण नियमित रूपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। तर, मन्त्रालयको स्पष्ट निर्देशनलाई पर्सामा बेवास्ता गरिएको देखिएको छ।
निर्वाचन आयोगले माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरिसकेको अवस्थामा पर्सा सदरमुकामदेखि पश्चिमी भेगमा पर्ने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा भने भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरी खुलेआम चुनावी प्रचार–प्रसार भइरहेको छ। स्थानीय बासिन्दाका अनुसार केही उम्मेदवार तथा तिनका समर्थकहरूले भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलमा राजनीतिक दलका झण्डा र ब्यानर टाँसेर घरदैलो अभियान गरिरहेका छन्।
निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भइरहँदा पनि सम्बन्धित निकायको मौनताले निष्पक्ष निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न खडा भएको छ।
एक स्थानीय मतदाताका अनुसार नेपाली नम्बर प्लेटका सवारी साधनलाई कडाइका साथ चेकजाँच गरिने गरे पनि भारतीय नम्बर प्लेटका गाडीमा पार्टीको झण्डा फहराउँदै प्रचार गर्दा समेत कसैले रोकतोक नगरेको अवस्था छ। निर्वाचन आचारसंहिताअनुसार विदेशी सवारी साधन प्रयोग गरी कुनै पनि प्रकारको चुनावी गतिविधि गर्न स्पष्ट रूपमा निषेध गरिएको भए पनि पर्सा–३/४ मा आचारसंहिता कागजमै सीमित भएको स्थानीयको गुनासो छ।
यति खुला उल्लंघन भइरहँदा पनि निर्वाचन कार्यालय, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय सबै मौन दर्शक बनेका छन्। यसले निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति प्रशासनको इच्छाशक्ति र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
यसैबीच, पर्सा जिल्लाका ग्रामीण तथा सीमावर्ती क्षेत्रमा भन्सार नकटाई तथा दर्ता प्रक्रिया पूरा नगरी भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कुटर तथा चारपांग्रे सवारी साधनहरू अवैध रूपमा सञ्चालन भइरहेको तथ्यसमेत बाहिर आएको छ। चिन्ताजनक कुरा के छ भने यस्ता सवारी साधनहरू छोटो अवधिका लागि मात्र नभई लामो समयदेखि नेपालमै राखी प्रयोग हुँदै आएका छन्। सूचनाअनुसार केही भारतीय सवारी साधनहरू नेपालमै स्थायी रूपमा राखी भाडामा समेत सञ्चालन गरिएको छ, जसले चोरी वा आपराधिक गतिविधिमा प्रयोग भएका सवारी साधनहरू समेत सडकमा चलिरहेको आशङ्कालाई थप बल दिएको छ।
कानुनअनुसार भारतीय नम्बर प्लेटका सवारी साधनले नेपालमा एक वर्षभित्र जम्मा ३० दिनसम्म मात्र भन्सार काटी सञ्चालन गर्न पाउने व्यवस्था छ। सो अवधि नाघी नेपालमै राखिएका सवारी साधनहरू स्वतः अवैध ठहरिने व्यवस्था भए पनि पर्सामा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। सडकमा चलिरहेका अवैध सवारी साधन नियन्त्रण गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र नेपाल प्रहरीको भए पनि सम्बन्धित निकायले आँखा चिम्लिएको आरोप स्थानीयले लगाएका छन्।
जानकारहरूका अनुसार सीमावर्ती क्षेत्रमा भारतीय सवारी साधन प्रयोग गरी भइरहेको चुनावी गतिविधिले विदेशी प्रभाव बढाउने, आर्थिक असमानता सिर्जना गर्ने तथा निष्पक्ष निर्वाचन प्रक्रियालाई गम्भीर रूपमा प्रभावित पार्ने खतरा बढाएको छ। स्थानीय नागरिक समाज, बुद्धिजीवी तथा सरोकारवालाहरूले भारतीय सवारी साधन प्रयोग गरी भइरहेको चुनावी प्रचार–प्रसार तत्काल रोक्न, दोषी उम्मेदवार तथा सहयोगीमाथि कडा कारबाही गर्न र प्रशासनिक मौनता अन्त्य गर्न निर्वाचन आयोग र गृह मन्त्रालयसँग तत्काल हस्तक्षेपको माग गरेका छन्।
समयमै नियन्त्रण र कडा कारबाही नभए पर्सा–३/४ को निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्ने चेतावनीसमेत दिइएको छ।