वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। तर चुनावी सरगर्मी बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यलाई लिएर स्थानीय तहमा गम्भीर प्रश्न र असन्तुष्टि सतहमा आउन थालेको छ। मत माग्दै गाउँ–बस्ती पुगेका शाक्यलाई स्थानीय मतदाताले खुलेर आलोचना गर्न थालेपछि पर्सा–४ को राजनीतिक माहोल थप तातेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार टेकबहादुर शाक्य भाषणमा आकर्षक र ठूला–ठूला कुरा गर्ने नेताका रूपमा चिनिए पनि व्यवहारमा भने उनी “पोज भारी, डिबा खाली” जस्तै देखिएका छन्। चुनावी मञ्चमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील विषयमा ठूला प्रतिबद्धता जनाउने तर व्यवहारमा त्यसको कुनै झल्को नदेखिने गुनासो स्थानीयको छ। २०७९ सालको निर्वाचनताका जनतासामु ठूला सपना देखाएका शाक्यले चुनावपछि जनतासँग सम्पर्क नै तोडेको आरोप पनि खुलेर लगाउन थालिएको छ।
स्थानीयहरूले शाक्यविरुद्ध गम्भीर आरोपसमेत सार्वजनिक रूपमा उठाउन थालेका छन्। उनीमाथि अघिल्लो निर्वाचनमा विपक्षी शक्तिसँग आर्थिक लेनदेन गरी अन्य पार्टीलाई समर्थन गरेको र आफू चुनावी प्रतिस्पर्धाबाट पछि हटेको आरोप लागेको बताइन्छ। यस्ता आरोपले उनको राजनीतिक चरित्र र विश्वसनीयतामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको स्थानीयको भनाइ छ। “चुनाव आउँदा मात्रै नेता देखिन्छन्, भोट पाएपछि जनताको फोनसमेत उठ्दैन,” छिपहरमाई गाउँपालिकाका एक मतदाताले आक्रोश व्यक्त गर्दै भने।
पर्सा–४ का मतदाताहरू वर्षौंदेखि बेरोजगारी, कमजोर शिक्षा प्रणाली, स्वास्थ्य सेवाको अभाव र आधारभूत पूर्वाधारको समस्याबाट पीडित छन्। तर हरेक निर्वाचनमा उही आश्वासन, उही भाषण र उही प्रचार दोहोरिने गरेको उनीहरूको गुनासो छ। स्थानीयका अनुसार नेताहरू जनताका वास्तविक समस्याको समाधान खोज्नुभन्दा सामाजिक सञ्जाल, फोटोसेसन र भाषणमै सीमित हुने गरेका छन्। यही कारण टेकबहादुर शाक्यजस्ता नेताप्रति जनआक्रोश बढ्दै गएको देखिन्छ।
एक स्थानीय युवाले आक्रोश पोख्दै भने, “हामीलाई फोटो खिच्न र भाषण गर्न मात्रै आउने नेता चाहिएको होइन। काम गरेर देखाउने, जनतासँग दुःख–सुखमा उभिने नेता चाहिएको हो।” युवाहरूको यो आवाजले पर्सा–४ मा राजनीतिक चेतना बढ्दै गएको संकेत गर्छ, जहाँ अब भाषणभन्दा कामको मूल्याङ्कन हुन थालेको छ।
टेकबहादुर शाक्यको पछिल्लो चुनावी गतिविधिप्रति सामाजिक सञ्जालमा पनि व्यापक आलोचना देखिन थालेको छ। कतिपय प्रयोगकर्ताले उनलाई ‘चुनावी मौसममा मात्रै देखिने नेता’ भन्दै टिप्पणी गरिरहेका छन् भने केहीले अघिल्ला प्रतिबद्धता पूरा नगरेको भन्दै कडा प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा बढ्दो आलोचनाले उनको चुनावी अभियानलाई झनै कठिन बनाउने संकेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–४ मा देखिएको यो असन्तुष्टि सामान्य प्रतिक्रिया मात्र होइन, यो टेकबहादुर शाक्यका लागि गम्भीर राजनीतिक चेतावनी हो। विश्लेषकहरू भन्छन्, “जनतासँग निरन्तर सम्पर्क, पारदर्शिता र व्यवहारिक काम बिना अब चुनाव जित्न कठिन छ। पुराना भाषण र नाराले मतदाता प्रभावित हुने समय सकिँदै गएको छ।”
पर्सा–४ का मतदाताहरू यसपटक फरक मनस्थितिमा देखिएका छन्। उनीहरू भोट माग्ने बेला मात्रै होइन, सधैं जनताको बीचमा रहने, जनसमस्यालाई आफ्नो एजेन्डा बनाउने र काम गरेर देखाउने नेतृत्वको खोजीमा छन्। बढ्दो जनअसन्तुष्टिले आगामी निर्वाचनमा टेकबहादुर शाक्यको राजनीतिक भविष्य कस्तो मोड लिन्छ भन्ने प्रश्नलाई अझ गहिरो बनाएको छ। पर्सा–४ मा अब प्रश्न स्पष्ट छ– भाषण धेरै गर्ने कि काम गरेर देखाउने नेता? जनताले यसको जवाफ मतपेटिकामार्फत दिने तयारी गरिरहेका छन्।