सर्लाही । सर्लाहीको मलङ्वा नगरपालिका–८ स्थित रहेको गोरखकाली प्रहरी चौकीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक ( वरिष्ठ सई ) राम बालक राय यादवमाथि स्थानीय व्यवसायीहरूलाई डरधम्की, अवैध रकम असुली, र झुटा मुद्दा लगाउने जस्ता गम्भीर आरोपहरू सार्वजनिक भएका छन् ।
घटनाहरूको पछिल्लो श्रृंखलाले चौकी इञ्चार्जले आफ्नो पदको दुरुपयोग गरी व्यवसायीमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको पुष्टि गरिरहेका छन् ।
स्थानीय ललन प्रसाद पोली क्लिनिकका सञ्चालक सम्भु यादवले केही दिन अघि आफूले भारतबाट उपचार गराउन आउने बिरामीहरू धेरै भएको भन्दै प्रहरी इञ्चार्ज यादवले “मलाइ पनि केही पैसा मिलाउनु पर्छ” भन्ने माग राखेको बताए ।
उक्त माग अस्वीकार गरेपछि प्रहरी इञ्चार्जले उनीमाथि मानसिक दबाब सिर्जना गर्दै बारम्बार धम्की दिन थालेका थिए । यसैबीच, असार ३ गते क्लिनिकका चिकित्सक सत्रोहन यादवका दाजु रोहित कुमार यादव भारतको सोनवर्षाबाट नेपालमा पाइँदैन भन्ने औषधिहरू – जस्तै Neeri Syrup, Drotin Tablet, Ortho Oil र M-Preminicortil– ल्याउँदै गर्दा गोरखकाली प्रहरी चौकीका इञ्चार्ज यादवले उनलाई बिना कुनै पूर्वसूचना नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।
प्रहरी इञ्चार्जले रोहितमाथि ‘महिनावारी नदिएको’ निहुँमा मुद्दा दर्ता गराएको र यो सम्पूर्ण प्रक्रिया नियोजित रूपमा क्लिनिक सञ्चालकलाई दबाबमा ल्याउने प्रयासको एक हिस्सा रहेको आरोप स्थानीयहरूले लगाएका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी तथा मुद्दा फाँटका इञ्चार्ज बालिष्टर सिंहसमेत यो घटनामा संलग्न रहेको आशंका गरिएको छ ।
त्यति मात्र होइन, सोही क्लिनिक नजिकै रहेको एक किराना पसलमा समेत प्रहरी इञ्चार्जको दादागिरी देखिएको छ । केही दिन अघि राम बालकले ती किराना पसलबाट आठ ओटा बियर माग गरेका थिए, तर पसल सञ्चालकले बियर दिन अस्वीकार गरेपछि उनले स्थानीयहरूसँग विवाद गराई पसल सञ्चालकलाई सुनियोजित ढंगले पक्राउ गराएका थिए ।
पसल सञ्चालकका अनुसार, प्रहरी इञ्चार्जले आफ्नो व्यक्तिगत इच्छा पूरा नभएको झोँकमा मुद्दा लगाउने शैली अपनाएको स्पष्ट देखिएको छ ।
मलङ्वा क्षेत्रका केही होटल व्यवसायीहरूले पनि प्रहरी इञ्चार्जबाट बारम्बार पैसा माग्ने, नदिएपछि निरीक्षणको नाममा हैरानी दिने र कानुनी कारवाहीको धम्की दिने गरेको अनुभव बाँडेका छन् । व्यवसायीहरूका अनुसार प्रहरी इञ्चार्जको यस्तो दमनकारी शैलीका कारण उनीहरू मानसिक तनावमा छन् र व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ ।
घटनाको श्रृंखलाले गोरखकाली चौकी एक सुरक्षाकर्मीको चौकी नभएर व्यक्तिगत स्वार्थमा सञ्चालन भएको दबाबको केन्द्र बनेको भन्दै स्थानीयवासीहरू आक्रोशित बनेका छन् । उनीहरू भन्छन् – “प्रहरी हाम्रो रक्षक हुनुपर्ने हो, तर अहिले हामी प्रहरीकै डरले बाँचिरहेका छौं ।” यस्ता कार्यहरूबाट प्रहरीको नाममा भइरहेको अनुशासनहीनता र सत्ता दुरुपयोगप्रति गम्भीर प्रश्न उठेको छ ।
स्थानीय बुद्धिजीवी, व्यापारी, जनप्रतिनिधि र नागरिक समाजले घटनाको गम्भीरता देख्दै प्रहरी संगठन, गृह मन्त्रालय र मानव अधिकार आयोगसँग निष्पक्ष छानबिनको माग गरेका छन् । दोषीलाई कारबाही नगरेसम्म यसले मुलुकको प्रहरी प्रणालीप्रतिको जनविश्वास समाप्त हुने चेतावनीसमेत दिएका छन् ।
प्रहरी संगठनले आफ्नो छवि बचाइराख्न चाहेमा यस्ता घटनामा ढिलाइ नगरी तुरुन्त सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि स्पष्ट कारबाही गर्नुपर्ने आवाज चुलिँदै गएको छ । अन्यथा, सर्लाहीको मलङ्वाबाट उठेको आक्रोश मुलुकभर फैलिने खतरा नकार्न सकिँदैन ।
रामबालक यादव को हुन् ?
सई रामबालक यादव मधेश प्रदेश भारतसँग सीमा जोडिएका कमाउ अड्डाको रुपमा चिनिने चौकीहरुमा बस्न पाउने नेपाल प्रहरीभित्रका अति नै भाग्यमानी र चतुर प्रहरी हुन् ।
जागिर प्रवेश गरेदेखि नै भ्रष्ट स्वभावका प्रहरी अधिकारीहरुलाई प्रभावमा पारेर कमाउ अड्डा हात पार्न सिपालु प्रनानि यादवले आफ्नो कार्यकालको अवधिमा पर्साको मूख्य नाका प्रहरी चौकी इनर्वा, प्रसौनी, जानकी टोलाका साथै १ वर्ष जिल्ला प्रहरी कार्यालयको उजुरी शाखामा कार्यरत रहे ।
त्यस्तै बारा जिल्लाको पनि कमाउ चौकीको रुपमा चिनिएका छतवा बरैनिया र पथलैया जस्ता चौकीहरुको इन्चार्ज भए । छतवा बरैनियामा कार्यरत रहँदा तस्करीको लाइन दिएर १० वटा ट्रयाक्टर जिल्लाले नियन्त्रणमा लिएपछि विवादमा तानिएर जनकपुरस्थित गणमा तानिएका थिए भने पथलैया प्रहरी चौकीमा छँदा पनि त्यस्तै विवादित आचरण प्रदर्शन गरिरहे ।
त्यसअघि २०७५ सालमा सप्तरीको देउरी चौकीमा कार्यरत रहँदा रामबालक यादवले सुल्तान नामक तस्करसँग रकम लेनदेनका साथै अन्य विवादित र प्रहरी आचरणविपरीतका काम गरेपछि निलम्बनमा परेका थिए ।
पटक पटक प्रहरी आचरणविपरितका काम गरेर संगठनको छवि धमिल्याइरहने तर पेशागत मर्यादाविपरीतको काम गरेर कमाएका पैसाबाट हाकिहरुलाई रिझाउन खप्पिस मानिएका प्रनानि यादव जस्तालाई मात्र चौकीको जिम्मेवारी दिएको देख्दा इमान्दार प्रहरीहरु पैसाको करामत भन्ने गर्दछन् ।
वरिष्ठ सई यादव हाल गोरखकाली चौकी बाट हार्डवेयर कारोबार, कपड़ा र किराना व्यापारी, चिनी व्यापारी, इलेक्ट्रोनिक व्यापारी, माछा व्यापारी, कपड़ा व्यापारी, किरानाको काम गर्ने रिता र बबितालगायत दर्जनभन्दा बढ़ी तस्करहरूलाई लाइन दिएका छन् । बरिष्ठ सई रामबालक यादवको जागिर अवधि जम्म्मा ५ महिनामात्र बाँकी छ ।
सर्लाहीका यसअघिका एसपी रविन्द्र सिंहले अवकाश उनलाई गोरखकाली चौकीको इन्चार्ज बनाएर पठाएका थिए । एसपी सिंहले प्रिपेड बुझेर उनलाई मासिक दस्तुरी पनि बुझाउने सर्तमा गोरखकाली चौकीको इन्चार्जमा पठाएको आरोप लागेको थियो ।
तत्कालीन आईजीपी बसन्तबहादुर कुँवरको सचिवालयमा बसेकाले सिंहलाई उनले डीएन ज्ञवालीलाई ५० दिनमै तानलेर सर्लाहीको एसपीमा पठाएका थिए । सिंहले जानासाथ रामबालकजस्ता विवादित बरिष्ठ सईलाई गोरखकाली चौकीको इन्चार्जमा पठाएका थिए । गोरखकाली चौकी सर्लाहीको सबैभन्दा बढी तस्करी हुने नाकामा पर्दछ ।
गोरखकाली चौकी रहेको एरियामा ९ वटा अबैध मदिरा भट्टीहरूरहेका छन् । ती अबैध भट्टीबाट उत्पादित मदिरा भारततर्फ तस्करी हुने गरेको छ ।
अबैध भट्टी संचालन गर्न सहयोग गरेबापत एउटा भट्टीले चौकी इन्चार्जलाई मासिक दररेट बुझाउने गरेका छन् । त्यसै क्षेत्रका प्रतीक र साहारा नामका होटलमा भारतीयहरू मदिरा सेवनका लागि आउने गर्दछन् ।
ती होटलबाट समेत रामबालकले महिनावारी उठाउने गरेको आरोप छ । अवकाश हुने बेलामा उनी तस्करीको लाइन दिनेदेखि जसरी हुन्छ असुलीमा तल्लीन भएर लागेका यी केही उदाहरण हुन् ।