वीरगंज, पर्सा – पछिल्ला राजनीतिक परिवर्तन र झन्डै दुई तिहाई बहुमतको सरकार बालेन नेतृत्वमा बन्ने निश्चितता बाबजुद पनि पर्साको पोखरिया मालपोत कार्यालयमा भ्रष्टाचार र घुसखोरी अझ बढेको छ। स्थानीयवासी र सेवाग्राहीहरूले यस कार्यालयमा काम गर्ने प्रणाली अब पूर्णरूपमा विकृत भएको गुनासो गरेका छन्।
स्थानीय स्रोतका अनुसार, कार्यालयमा काम गर्ने सामान्य सेवाग्राहीहरूले सहज सेवा पाउन छाडेका छन् भने बिचौलियाको सहारा लिन नचाहेका नागरिकहरूले हप्तौँसम्म आफ्नो काम सम्पन्न गर्न नसक्ने अवस्था छ।
कार्यालय प्रमुख रामजी प्रसाद साहको नेतृत्वमा, कर्मचारीहरू र बिचौलियाबीच साङ्लो बढ्दै गएको छ। धेरै सेवाग्राहीहरूले बताएअनुसार, काम गर्नको लागि रकम दिने व्यक्तिहरूको काम छिटो हुन्छ भने नदिनेहरूको काममा जानाजान ढिलाइ गरिन्छ। कर्मचारीहरूले काम रोकिनु वा ढिला हुनुको स्पष्ट कारण नदिई, “कागजात कम छ” वा “थप प्रमाण ल्याउनुपर्छ” भन्ने बहाना प्रस्तुत गरेर सेवाग्राहीलाई थकाइ दिने गरेको आरोप छ।
विशेषगरी मुद्दा फाँटबाट हुने सेवा अझै बढी अनियमित भएको स्थानीयहरूले गुनासो गरेका छन्। सेवाग्राहीले बताएअनुसार, फाँटका कर्मचारीहरूले झुक्याएर वा कागजातको बहाना देखाएर सेवा ढिला गर्ने प्रवृत्ति बढ्दो छ। यस विषयमा कार्यालय प्रमुख रामजी साहलाई पटक-पटक ध्यानाकर्षण गराइएको भए तापनि कुनै ठोस कदम नउठाइएको बताइन्छ।
सेवाग्राहीहरुले यस विषयमा तुरुन्तै अनुसन्धान र सुधारको माग गरेका छन्। “सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनुपर्छ, बिचौलियाको हालीमुहालीले कार्यालयको विश्वास घटाएको छ,” एक पीडित सेवाग्राहीले गुनासो गरे।
यो घटनाले जेनजी बिद्रोहपछि सुधार र भ्रष्टाचार नियन्त्रणको आशा कायम राख्ने स्थानीयहरूको विश्वासमा ठूलो धक्का पुर्याएको छ। नागरिकहरूले सरकार र सम्बन्धित निकायहरूलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्, ताकि पोखरियाको मालपोत कार्यालयले वास्तविक रूपमा जनताको सेवा गर्न सुरु गर्न सकोस्।