छिपहरमाई गाउँपालिकाको २२ औं गाउँसभा सम्पन्न ।



वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २२ औं गाउँसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि आयोजना गरिएको उक्त गाउँसभा बुधबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष लिलावती देवीको अध्यक्षतामा सम्पन्न सभामा गाउँ कार्यपालिकाका पदाधिकारी, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँसभाले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। वडा नं. ३ का अध्यक्ष दिपेन्द्र सिंहका अनुसार गाउँसभाबाट योजनाहरू परिमार्जन गर्ने, आवश्यक निर्णयहरू अनुमोदन गर्ने, आर्थिक सहयोगसम्बन्धी कार्यविधि तयार गर्ने तथा कन्यादान रकम व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्ने विषयमा सहमति भएको छ।

त्यस्तै, स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाको प्रशासनिक भवन भाडामा सञ्चालन हुँदै आएकाले अब आफ्नै स्थायी प्रशासनिक भवन वडा नं. ५ मा निर्माण गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।

गाउँसभामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी कार्यक्रमहरू अघि बढाउने विषयमा जोड दिइएको गाउँपालिकाले जनाएको छ। साथै, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

कार्यक्रम बिहान ११:०० बजेबाट सुरु भई केही समयको छलफल तथा तानातानपछि बेलुका ४ बजे सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

यसैबीच, गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा रहेकाले उपाध्यक्ष लिलावती देवीको अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज