कालिकामाई गाउँपालिका अध्यक्षद्वारा कुटपिट आरोप अस्वीकार, निष्पक्ष छानबिनको माग



वीरगंज । पर्सा कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमारले हामीमाथी लगाइएको “कोठामा थुनेर कुटपिट गरिएको” भन्ने आरोप पूर्ण रूपमा निराधार र कपोलकल्पित भएको बताएका छन्।

शुक्रबार दिउँसो आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै अध्यक्ष कुमारले गाउँपालिकाले सधैं विधि, प्रक्रिया र कानुनी मर्यादाभित्र रही काम गर्दै आएको उल्लेख गरेका छन्। उनले भ्रष्टाचारविरुद्ध आवाज उठाउनु नागरिकको अधिकार भएको भन्दै त्यसको सम्मान गरिने बताए।

तर तथ्यहीन आरोप लगाएर गाउँपालिकाको छवि धूमिल पार्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ। “उक्त घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आवश्यक छानबिनका लागि हामी तयार छौं र सम्बन्धित निकायलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्दछौं,” उनले उल्लेख गरेका छन्।

अध्यक्ष कुमारले यदि कसैसँग आरोप पुष्टि गर्ने प्रमाण भए सार्वजनिक गर्न आग्रह गर्दै अन्यथा यस्ता भ्रामक आरोपले समाजमा अनावश्यक द्वन्द्व र भ्रम सिर्जना गर्ने बताएका छन्।

उनका अनुसार “ZenG” नामले चिनिने व्यक्ति कोठाभित्र प्रवेश गरेको समय १२:१२ बजे र बाहिर निस्किएको समय १२:१४ बजे रहेको भिडियोसमेत सार्वजनिक गरिएको छ। उक्त भिडियोमा कुनै कुटपिट भएको नदेखिएको र ती व्यक्ति आएको अवस्थामै फर्किएको स्पष्ट देखिएको अध्यक्ष कुमारको दाबी छ।

गाउँपालिकाले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै घटनाबारे सत्यतथ्य बाहिर ल्याउन जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज