मालपोत कार्यालयमा बिचौलियाको बिगबिगी : पोखरियामा दुई जना पक्राउ, एक सेवाग्राही रिहा



वीरगंज, पर्सा  । पर्साको पोखरिया स्थित मालपोत कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहेका दुई बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेवाग्राहीलाई छिटो काम गराइदिने बहानामा दबाब सिर्जना गर्ने, कर्मचारीलाई हैरानी पार्ने र सरकारी कार्यालयको कार्यसम्पादनमा अवरोध पुर्‍याउने गतिविधिमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शुक्रबार मालपोत कार्यालयमै पुगेर शंकास्पद गतिविधि गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक छानबिनपछि तीमध्ये एक जनालाई वास्तविक सेवाग्राही रहेको पुष्टि भएपछि तत्काल रिहा गरिएको छ।

प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार रिहा गरिएका व्यक्ति आफ्नी श्रीमतीको नाममा जग्गा पास गराउन आएका थिए। “अनुसन्धानका क्रममा उनी निर्दोष सेवाग्राही रहेको देखिएपछि छाडिएको हो,” उनले जानकारी दिए।

हाल नियन्त्रणमा रहेका व्यक्तिहरू पोखरिया नगरपालिका–३ निवासी रामपुजन चौहान र जागरनाथपुर गाउँपालिका–२ निवासी हरिनारायण प्रसाद चौहान हुन्। उनीहरूले आफूलाई लेखापढी व्यवसायी भएको दाबी गरे पनि त्यसबारे विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती व्यक्तिहरूले सेवाग्राहीलाई झुक्याएर काम छिटो गरिदिने बहानामा दबाब सिर्जना गर्ने, कर्मचारीलाई हैरानी दिने र कार्यालयको कार्यसम्पादनमा बाधा पुर्‍याउने गतिविधिमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष छ। पछिल्लो समय मालपोत कार्यालयहरूमा यस्ता बिचौलियाको चलखेल बढेको गुनासो आएपछि कार्यालयमा निगरानी कडा गरिएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले केही दिनअघि मात्र देशभरका मालपोत तथा भूमि सुधार कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न कडा निर्देशन जारी गरेको थियो। विभागले गोप्य तथा संवेदनशील कागजातहरूमा बाहिरी व्यक्तिको पहुँच बढ्दै गएको भन्दै सुरक्षा र अनुशासनमा कडाइ गर्न परिपत्र गरेको थियो।

प्रहरीले नियन्त्रणमा रहेका दुवै जनामाथि थप अनुसन्धान जारी राखेको छ। साथै, मालपोत कार्यालय जस्ता संवेदनशील निकायमा बिचौलियाको प्रवेश रोक्न थप निगरानी र आवश्यक कारबाही अघि बढाइने संकेत गरिएको छ। सेवाग्राहीलाई पनि कुनै बिचौलियाको भर नपरी सरकारी प्रक्रिया अनुसार मात्र काम गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज