पर्सा, कात्तिक ९ । भारतको बिहारस्थित रक्सौलको एलसी–३३ रेल्वे क्रसिङमा प्रस्तावित रेल्वे ओभरब्रिज (आरओबी) को लेआउट प्लान सार्वजनिक गरिएको छ। पूर्व मध्य रेल्वेका महाप्रबन्धकको पत्रका आधारमा निर्माणसम्बन्धी उपमुख्य इन्जिनियरले उक्त नक्सा शिक्षाविद् डा. स्वयंभू शलभलाई पठाएका हुन्।
डा. शलभका अनुसार प्रस्तावित ओभरब्रिज नेपालतर्फबाट भारतीय भन्सार कार्यालय नजिक सुरु हुनेछ। योजनाअनुसार सुरुमा ८० मिटर लामो आरई वालसहितको पहुँच सडक निर्माण गरिनेछ। त्यसपछि ३६० मिटर लामो भायडक्ट ओभरब्रिज बनाइनेछ भने रेल्वे लाइनमाथिको १२० मिटर खण्डमा स्ल्याब निर्माण गरिनेछ।
प्रस्तावित संरचनामा प्रत्येक २० मिटरको दूरीमा पी–१ देखि पी–११ सम्म ११ वटा पिलर रहनेछन्। साथै, आरई वालका दुवै छेउमा ए–१ र ए–२ नामका दुईवटा अबटमेन्ट निर्माण गर्ने योजना छ।
ओभरब्रिजको दक्षिणी भागमा २१५ मिटर लामो आरई वाल निर्माण गरी रक्सौल प्रहरी थानासम्म पुर्याउने प्रस्ताव गरिएको छ। पिलरहरूबीचको भाग खुला राखिने भएकाले पूर्वी र पश्चिमी सर्भिस रोडबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
डा. शलभले ओभरब्रिज योजनाका थप प्राविधिक विवरण पछि सार्वजनिक गरिने बताएका छन्। प्रस्तावित ओभरब्रिज निर्माण भए रक्सौल क्षेत्रमा रेल्वे क्रसिङका कारण उत्पन्न हुने आवागमनसम्बन्धी समस्यालाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !