वीरगञ्ज, ९ कात्तिक। बाराको विश्रामपुर गाउँपालिकामा विषालु कोब्रा सर्पको डसाइबाट ४ वर्षीय बालकको मृत्यु भएको छ। मामाघरमा बस्दै आएका बालकको सर्पदंशबाट मृत्यु भएपछि परिवार तथा गाउँमा शोक छाएको छ।
प्रहरीका अनुसार भारतको बिहार राज्यस्थित पूर्वी चम्पारणको पकडिया स्थायी घर भएका गजेन्द्र प्रसाद पालका ४ वर्षीय छोरा आदित्य प्रसाद पाल विगत एक महिनादेखि आमासँगै बाराको विश्रामपुर गाउँपालिका–५, इटियाहीस्थित मामाघरमा बस्दै आएका थिए।
२०८३ साल कात्तिक ८ गते साँझ करिब ५ः३० बजे मामाघरअगाडि खेलिरहेको अवस्थामा बालकलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो। सर्पको डसाइबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकले ईसीजीसहित जाँच गर्दा साँझ ६ बजे नै बालकको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मुसहर्वा, बारामा खबर गरिएको थियो। त्यसलगत्तै प्रहरी नायब निरीक्षक मनोज साह सोनारको कमाण्डमा प्रहरी टोली घटनास्थल तथा अस्पतालतर्फ खटिएको प्रहरीले जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का पूरा गरेपछि साँझ ७ः४० बजे बालकका मामा जितेन्द्र कुमार पालले नारायणी अस्पतालबाट शव बुझेर घर लगेका थिए।
चाडपर्वको समयमा खेलिरहेका अबोध बालकको सर्पदंशबाट मृत्यु भएपछि परिवारजन शोकमा डुबेका छन् भने गाउँमा समेत दुःखको वातावरण छाएको छ।


तपाईको प्रतिक्रिया !