पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

NEWS DESK
२०८३ कार्तिक १०, मंगलवार १०:१९ बजे

वीरगञ्ज, १० कात्तिक । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक (सई) मनोज यादव र प्रहरी चौकी मनवाका प्रहरी सहायक निरीक्षक (असई) ऋषीराज भट्टराईको संयुक्त टोलीले काठ र गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पर्साको छतिवनटाडी र बढनियारस्थित राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा सालको गोलिया काठ कटान गरी फर्निचर उद्योगतर्फ लैजाँदै गरेको अवस्थामा पर्सागढी नगरपालिका–२, गोडपसराबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उक्त घटना बिहान करिब २ बजे भएको प्रहरीले जनाएको छ।

प्रहरीले ना.५ त १२५४ नम्बरको पिकअप गाडीमा लोड गरिएको सात थान सालको गोलिया काठ बरामद गरेको छ। घटनामा पर्सागढी नगरपालिका–२, छतिवनटाडी निवासी पिकअप चालक केदार चौधरी पक्राउ परेका छन्।

पक्राउ परेका चालक, पिकअप गाडी र बरामद काठलाई हाल इलाका प्रहरी कार्यालय एकटाङ्गामा राखिएको छ।

थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि चालक, गाडी र काठ डिभिजन वन कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्