सप्तरी, १० कात्तिक । आधुनिक यातायातका साधन र कृषि प्रविधिको विकास भइरहे पनि मधेस प्रदेशका सप्तरीलगायत जिल्लाका ग्रामीण क्षेत्रमा कृषि उपज ओसारपसार गर्न अझै गोरुगाडाकै प्रयोग हुँदै आएको छ।
धान, मकै, गहुँलगायतका अन्नबाली खेतबाट घरसम्म ल्याउन तथा पराल, मल र अन्य कृषि सामग्री ढुवानी गर्न ग्रामीण भेगका किसानले गोरुगाडालाई उपयोग गर्दै आएका छन्। सहरी तथा सुगम क्षेत्रमा ट्र्याक्टर र अन्य आधुनिक साधनको प्रयोग बढे पनि कतिपय गाउँमा गोरुगाडा अझै महत्त्वपूर्ण साधनका रूपमा रहेको छ।
सप्तरीको महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथ मण्डलले परम्परादेखि चल्दै आएको गोरुगाडाको प्रयोगलाई अहिले पनि निरन्तरता दिइरहेको बताउनुभयो। उहाँका अनुसार विगतमा गाउँका अधिकांश घरमा दुईवटा गोरु र एउटा गोरुगाडा अनिवार्यजस्तै हुन्थ्यो।
“मलाई याद भएदेखि नै घरमा गोरुगाडा छ। दुई दशकअघिसम्म गाउँका धेरैजसो घरमा गोरु र गोरुगाडा हुन्थे। यात्रा गर्न, सामान ओसार्न, जन्ती जान र बेहुली ल्याउनसमेत गोरुगाडाकै प्रयोग गरिन्थ्यो,” उहाँले भन्नुभयो।
राजविराज नगरपालिका–१३ का किशुनदेव यादवका अनुसार तराईका ग्रामीण क्षेत्रमा अझै पनि हलो जोत्न, माटो सम्याउन र पराल दाइ गर्न गोरुको प्रयोग हुँदै आएको छ। तर, सहरी तथा सुगम क्षेत्रमा प्रविधिको विकाससँगै यस्ता काममा ट्र्याक्टरलगायतका आधुनिक कृषि उपकरणको प्रयोग बढेको उहाँले बताउनुभयो।
तिरहुत गाउँपालिका–५ गोइठीकी मेरिना देवले गोरुगाडामा उखु, धान, पराल, मल, रहर, चना, तोरीलगायतका कृषि उपज तथा कुटानी–पिसानीका सामग्री ओसारपसार गर्ने परम्पराले ग्रामीण मधेसको मौलिकता झल्काउने बताउनुभयो।
उहाँका अनुसार विगतमा गोरुगाडालाई ग्रामीण क्षेत्रको महत्त्वपूर्ण यातायात साधनका रूपमा लिइन्थ्यो। विशेषगरी वर्षायामको तुलनामा हिउँदमा यसको प्रयोग बढी हुने गरेको थियो।
आधुनिक यातायातका साधनको पहुँच विस्तार हुँदै गए पनि ग्रामीण क्षेत्रमा गोरुगाडाको प्रयोगले परम्परागत कृषि जीवनशैली र स्थानीय संस्कृतिको झल्को दिइरहेको छ। किसानका लागि यो कृषि उपज ढुवानी गर्ने साधन मात्र नभई पुस्तौँदेखि चल्दै आएको परम्पराको निरन्तरता पनि बनेको छ।


तपाईको प्रतिक्रिया !