वीरगञ्ज । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले ६८ किलोभन्दा बढी अवैध चाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित रक्सौल स्थायी घर भएका १९ वर्षीय अमन सर्राफ रहेका छन्। उनी काठमाडौँ क्षेत्रमा गतिविधि गर्दै आएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार चन्द्रागिरि नगरपालिका–७ क्षेत्रबाट सर्राफलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट कुल ६८ किलो २४४.२४ ग्राम तौलका चाँदीका विभिन्न तयारी गरगहना बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त चाँदीका गरगहना भन्सार छली गरी काठमाडौँ उपत्यकाका विभिन्न पसलमा आपूर्ति गर्ने उद्देश्यले ल्याइएको खुलेको प्रहरीले जनाएको छ।
भन्सार छली तथा अवैध ओसारपसारसँग सम्बन्धित घटना भएकाले पक्राउ परेका सर्राफलाई बरामद चाँदीका गरगहनासहित थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँमा पठाइएको एसपी कार्कीले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


तपाईको प्रतिक्रिया !