जनकपुरधाम, ११ कात्तिक । जनकपुरधाम उपमहानगरपालिका–३ स्थित देवान पोखरीबाट निकालिएको फोहोर बस्ती नजिकै जलाउन थालिएपछि स्थानीयवासीले सास्ती भोग्नुपरेको छ। पोखरीको सरसफाइ तथा सौन्दर्यीकरणका क्रममा निकालिएको फोहोरको उचित व्यवस्थापन नगरी बस्तीको बीचमा जलाउँदा निस्किएको धुवाँले स्थानीयको जनजीवन प्रभावित भएको हो।
लामो समयदेखि डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको देवान पोखरीबाट निकालिएको फोहोर जलाउँदा वरपरका बस्तीमा धुवाँ फैलिने गरेको स्थानीयले बताएका छन्। घना बस्ती रहेको जानकी टोलमा धुवाँका कारण विशेषगरी ज्येष्ठ नागरिक तथा अन्य स्थानीयलाई श्वासप्रश्वासमा समस्या हुने गरेको उनीहरूको गुनासो छ।
पोखरी सफा गर्ने नाममा फोहोर निकालिए पनि त्यसको उचित व्यवस्थापन नहुँदा स्थानीयले थप समस्या झेल्नुपरेको स्थानीयवासीको भनाइ छ। विगतका वर्षमा पनि पोखरीको सरसफाइ हुँदै आएको दाबी गरिए पनि अहिले ठूलो परिमाणमा फोहोर निस्किएपछि सरसफाइको प्रभावकारितामाथि प्रश्न उठेको छ।
स्थानीय भगवान झाले पोखरीबाट निकालिएको फोहोरलाई अन्यत्र व्यवस्थापन गर्नुको सट्टा बस्ती नजिकै जलाउँदा सरसफाइको उद्देश्य नै प्रभावित भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “जनकपुरधामको प्रमुख समस्या फोहोर र पोखरी अतिक्रमण हो। तर, यहाँ सफाइको नाममा स्थानीयले सास्ती भोग्नुपरेको छ। फोहोरलाई बस्तीभन्दा टाढा लगेर विसर्जन गर्नुपर्छ।”
पोखरीको डिलबाट करिब २० फिटको दूरीमा घर रहेका ज्येष्ठ नागरिक सुदर्शनलाल कर्णले पनि फोहोर जलाउँदा निस्किएको धुवाँले श्वासप्रश्वासमा निकै समस्या भएको बताउनुभयो। उहाँले बस्तीको बीचमा फोहोर जलाउनु उचित नभएको उल्लेख गर्नुभयो।
पोखरी संरक्षणमा पनि प्रश्न
स्थानीयका अनुसार देवान पोखरी विगतदेखि नै फोहोर फाल्ने स्थानका रूपमा प्रयोग हुँदै आएको छ। पोखरी संरक्षण तथा अतिक्रमण हटाउने प्रयास भए पनि अपेक्षित सुधार हुन नसकेको उनीहरूको गुनासो छ।
२०७२ सालमा जनकपुर क्षेत्र विकास परिषद्ले अतिक्रमित पोखरी खाली गराउने क्रममा पोखरी आसपासका संरचना हटाएको थियो। तर, त्यसपछि पनि पोखरीको संरक्षण तथा व्यवस्थापन प्रभावकारी हुन नसकेको स्थानीयको भनाइ छ।
पोखरीको संरक्षण र सौन्दर्यीकरणका लागि सञ्चालन गरिने योजनाले स्थानीयलाई राहत दिनुपर्नेमा फोहोर जलाउँदा उल्टै समस्या थपिएको उनीहरूको गुनासो छ।
एक करोड ६९ लाखभन्दा बढीको सौन्दर्यीकरण आयोजना
देवान पोखरीको सौन्दर्यीकरणका लागि जनकपुरधाम उपमहानगरपालिकाले भ्याटबाहेक एक करोड ६९ लाख ३८ हजार १२० रुपैयाँ लागतको आयोजना सञ्चालन गरेको छ। आयोजना २०८४ साल जेठ ३१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गत जेठमा सम्झौता भएको उक्त आयोजनाअन्तर्गत पाँच महिना बितिसक्दा पनि पोखरीबाट फोहोर निकाल्ने काम पूर्ण रूपमा सम्पन्न नभएको स्थानीयवासीको दाबी छ।
पोखरीको सौन्दर्यीकरणका लागि ठूलो रकमको आयोजना सञ्चालन भइरहँदा फोहोर व्यवस्थापनमा देखिएको समस्याले आयोजनाको कार्यान्वयन र अनुगमनमाथि समेत प्रश्न उठाएको छ। स्थानीयले बस्तीमा फैलिएको धुवाँको समस्या तत्काल समाधान गर्न, फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न र पोखरीको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


तपाईको प्रतिक्रिया !