‘अर्नव’ चक्रवातको प्रभावले झापामा बाढीको जोखिम, धान नकाट्न प्रशासनको आग्रह

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार ०८:३० बजे

झापा । बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावले झापासहित कोशी प्रदेशका विभिन्न क्षेत्रमा बाढी, डुबान र भारी वर्षाको जोखिम बढेको छ। सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई उद्धृत गर्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै पाकेको धान भित्र्याउने तयारीमा रहेका किसानलाई प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरेको छ। भारी वर्षाका कारण धानबालीमा क्षति पुग्नुका साथै कृषि उत्पादन प्रभावित हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको हो।

प्रशासनका अनुसार भारी वर्षाले सडक तथा हवाई यातायात र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्छ। त्यसैले सर्वसाधारणलाई आवश्यक नपरी लामो दूरीको यात्रा नगर्न तथा वर्षाका बेला सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन भनिएको छ।

त्यस्तै, आकस्मिक बाढी आउन सक्ने खहरे खोला तथा नदी आसपासको क्षेत्रमा नजान, खोला किनारमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने काम नगर्न पनि प्रशासनले आग्रह गरेको छ। मौसमसम्बन्धी भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने पूर्वानुमान र सूचनालाई मात्रै आधार मान्न प्रशासनले अनुरोध गरेको छ।

चक्रवातबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठकसमेत गरेको जनाएको छ। बैठकमा विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक पूर्वतयारी र समन्वयबारे छलफल भएको थियो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै जनधनको क्षति रोक्न आवश्यक सतर्कता अपनाइएको बताए। उनका अनुसार स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकिएको छ।

प्रशासनले सम्भावित बाढी, डुबान र अन्य विपद्बाट सुरक्षित रहन मौसमसम्बन्धी सूचनामा ध्यान दिन तथा जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्