पेट्रोल पम्पको नाममा ३९ लाखको विवाद, बाराका सहनी दम्पतीमाथि बैंक कर्मचारीलाई ठगेको आरोप

NEWS DESK
२०८३ कार्तिक १४, शनिवार १०:२१ बजे

वीरगञ्ज। व्यापारिक प्रयोजनका लागि रकम आवश्यक परेको भन्दै बैंक कर्मचारी तथा चिनजानका व्यक्तिहरूबाट लाखौँ रुपैयाँ जुटाएर फिर्ता नगरेको आरोपमा बाराको कोल्वीमा पेट्रोल पम्प सञ्चालन गर्दै आएका राकेश सहनी र रुपाकुमारी सहनी विवादमा तानिएका छन्। सहनी दम्पतीले आर्थिक कारोबारमा विश्वासको दुरुपयोग गरेको र रकम फिर्ता माग्दा धम्की दिएको पीडित पक्षको आरोप छ।

रौतहटको महागढीमाई नगरपालिका–बरियारपुर घर भई हाल बाराको कोल्वीमा ‘कुनाल एन्ड मुनाल इन्टरप्राइजेज’ सञ्चालन गर्दै आएका सहनी दम्पतीले नबिल बैंकमा कार्यरत कर्मचारी नीरज गुप्तासँगको पुरानो चिनजानलाई प्रयोग गरी आर्थिक कारोबार गरेको पीडित पक्षको दाबी छ।

पीडितहरूका अनुसार राकेश सहनीले पेट्रोल पम्प खरिद गर्न लागेको र त्यसका लागि बैंकबाट ५५ लाख रुपैयाँ कर्जाको प्रक्रिया अघि बढेको भन्दै गुप्तालाई विश्वासमा लिएका थिए। बैंकबाट कर्जा स्वीकृत भए पनि रकम आउन समय लाग्ने भएकाले तत्काल बजारबाट रकम जुटाइदिन उनले आग्रह गरेको बताइएको छ।

सहनीको आग्रहपछि बैंक कर्मचारी गुप्ताले आफ्ना साथीभाइ तथा शुभचिन्तकहरूसँग समन्वय गरी रकम जुटाउन सहयोग गरेका थिए।

पीडित रोहित वर्णवालका अनुसार २०८१ जेठ २३ गते ‘गुड फर पेमेन्ट’मार्फत ३९ लाख रुपैयाँ कुनाल एन्ड मुनाल इन्टरप्राइजेजका तत्कालीन सञ्चालक रामपुकार सहनीको बैंक खातामा जम्मा गरिएको थियो। उक्त रकमको सुरक्षाका लागि बराबर रकमको चेक र ब्याज उपलब्ध गराउने आश्वासन दिइएको पीडितहरूको भनाइ छ।

तर, बैंकबाट कर्जाको रकम खातामा आइसकेपछि आफूहरूले पाएको चेक साट्न जाँदा समस्या देखिएको पीडितहरूले बताएका छन्। उनीहरूका अनुसार चेक जारी गर्ने व्यक्तिको बैंक खाता यसअघि नै बन्द भइसकेको र हस्ताक्षरसमेत परिवर्तन गरिएको पाइएको थियो।

यस विषयमा सहनीसँग जवाफ माग्दा उनले आफूमाथि अन्य मुद्दासमेत रहेको भन्दै मिलापत्र तथा रकम निकासाको बहानामा पटक–पटक थप रकम लिएको पीडितहरूको आरोप छ। सहनीले सुरुमा तीन लाख र त्यसपछि दुई लाख रुपैयाँसमेत लिएको उनीहरूको दाबी छ।

सावाँ तथा ब्याज फिर्ता माग्न थालेपछि सहनी दम्पतीले झूटा मुद्दामा फसाइदिने, जागिर खाइदिने तथा सामाजिक रूपमा बदनाम गराउने धम्की दिएको पीडित पक्षले आरोप लगाएको छ।

आर्थिक कारोबारमा आफ्नो विश्वासको दुरुपयोग भएको भन्दै बैंक कर्मचारी नीरज गुप्ता न्याय र सुरक्षाको मागसहित सम्बन्धित सरकारी निकाय पुगेका छन्।

गुप्ताले घटनाको निष्पक्ष छानबिन र सुरक्षाको माग गर्दै २०८३ साल साउन ७ गते गृह मन्त्रालयमा चलानी नम्बर ६२७ मार्फत औपचारिक निवेदन दर्ता गराएको बताइएको छ।

पीडित पक्षले घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्न र आफ्नो रकम फिर्ता गराउन सम्बन्धित निकायसँग माग गरेको छ।

व्यापारिक प्रयोजनका नाममा रकम जुटाएर फिर्ता नगरेको तथा रकम माग्दा धम्की दिएको भन्ने आरोपबारे सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान हुनुपर्ने माग उठेको छ। यद्यपि, सहनी दम्पतीमाथि लगाइएका आरोप पुष्टि हुन बाँकी छन्। यस विषयमा उनीहरूको आधिकारिक प्रतिक्रिया तथा अनुसन्धानको निष्कर्ष सार्वजनिक हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्