काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै कानुनविपरीत हुने पक्राउ र पत्रकारमाथिको दुर्व्यवहार तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।
‘जनदबाबपछि रिहाइभन्दा कानुनविपरीत पक्राउ र ह्यारेसमेन्ट बन्द गर सरकार ! विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सभापति थापाले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालको निरंकुशताको झल्को दिएको उल्लेख गरेका छन्। विगतमा पनि शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप भएका घटनाको स्मरण गराउँदै उनले त्यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि दुःखद र चिन्ताजनक भएको बताएका छन्।
थापाले सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको कदमको कडा शब्दमा भर्त्सना गर्दै यसलाई निन्दनीय र आपत्तिजनक बताएका छन्।
नेपाली कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेको छ।
यसअघि प्रहरीले शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलगायत पत्रकारलाई कार्यालयबाटै पक्राउ गरेको थियो। अन्य सञ्चारमाध्यममा समेत प्रहरी परिचालन गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयको निर्देशनपछि नियन्त्रणमा लिइएका पत्रकारहरू रिहा भएका छन्।


तपाईको प्रतिक्रिया !