बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित आधारभूत स्वास्थ्य केन्द्रमा सूर्य नेपाल प्रालिको सहयोगमा करिब २० लाख रुपैयाँको लागतमा प्रतीक्षालय निर्माण गरिएको छ।
निर्माण सम्पन्न प्रतीक्षालय बुधबार एक कार्यक्रमबीच वडा समितिलाई हस्तान्तरण गरिएको हो। स्वास्थ्य केन्द्रमा उपचार तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राही र बिरामीका आफन्तलाई घामपानीबाट जोगाउँदै सहज रूपमा बस्ने व्यवस्था मिलाउने उद्देश्यले प्रतीक्षालय निर्माण गरिएको हो। प्रतीक्षालयमा सेवाग्राहीको सुविधाका लागि कुर्सीसमेत राखिएको छ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष भोजबहादुर खत्री श्रेष्ठ, कार्यपालिका सदस्य अर्जुन रसाइली, विभिन्न जनप्रतिनिधि तथा सूर्य नेपाल प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य केन्द्रलाई सहयोग पुर्याएको भन्दै वडा कार्यालयले सूर्य नेपाल प्रालिलाई सम्मानसमेत गरेको थियो।
यसैबीच, सूर्य नेपाल प्रालिले जीतपुरसिमरा उपमहानगरपालिकालाई करिब ५६ लाख रुपैयाँ मूल्य बराबरको दमकलसमेत हस्तान्तरण गरेको छ। कम्पनीको यस सहयोगले नगरपालिकाको स्वास्थ्य पूर्वाधार सुधारसँगै विपद् व्यवस्थापन तथा आगलागी नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवा र विपद् व्यवस्थापनजस्ता महत्वपूर्ण क्षेत्रमा निजी क्षेत्रको सहयोगले स्थानीय तहको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया !