तिहारसहितका चाडपर्व लक्षित प्रहरीको विशेष सुरक्षा योजना लागू

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार ०८:०८ बजे

काठमाडौं । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ। चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्ने तथा चोरी, लुटपाट, जुवातास, सट्टेबाजी र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए।

उनका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ। पटकालगायत प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र तथा बजारमा विशेष चेकिङ टोली परिचालन गरिएको छ।

प्रहरीले पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न र मादक पदार्थ सेवन गरी होहल्ला नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ। साथै स्थानीय रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत सचेतनामूलक सन्देश प्रवाह भइरहेको छ।

चाडपर्वका अवसरमा आयोजना हुने र्‍याली, जुलुस तथा शोभायात्राका क्रममा विभिन्न समुदायबीच हुनसक्ने विवाद र झडप न्यूनीकरण गर्न सुरक्षा व्यवस्था थप मजबुत बनाइएको प्रवक्ता काफ्लेले बताए।

त्यस्तै, राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिमाथि पनि निगरानी बढाइएको छ। यस्ता गतिविधिबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

चाडपर्वका नाममा अत्यधिक मादक पदार्थ सेवन तथा जुवातास खेल्ने प्रवृत्तिले घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाका घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिएको जनाएको छ।

यसैगरी, मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजा सामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ।

प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा रहेको बताए।

तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। पटका तथा आतिशबाजीको प्रयोगले आगलागी, मानवीय चोटपटक, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुनसक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ। घाइतेको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गर्नसमेत आग्रह गरिएको छ।

अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा नेपाल प्रहरीको हटलाइन १०० मा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्