वीरगंज । ठोरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रक्रिया औपचारिक रूपमा बुधबारबाट सुरु गरिएको छ। पालिकालाई पूर्ण साक्षर घोषणा गर्नु अघि प्रत्येक वडालाई साक्षर घोषणा गर्नुपर्ने प्रक्रियाअनुसार आज ठोरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ लाई साक्षर वडा घोषणा गरिएको हो।
वडा नम्बर २ मा आयोजित कार्यक्रममा वडाध्यक्ष अमृत कृष्ण सापकोटाले वडा नम्बर २ लाई साक्षर वडा घोषणा गरे। त्यस्तै, वडा नम्बर १ मा वडाध्यक्ष धनमान थापा मगर र वडा नम्बर ३ मा वडाध्यक्ष शम्भु खड्काले आ–आफ्ना वडालाई साक्षर वडा घोषणा गरे।
बिहीबार बाँकी दुई वडा पनि साक्षर घोषणा हुने
गाउँपालिका शिक्षा शाखा प्रमुख भुपाल जोशीका अनुसार बिहीबार वडा नम्बर ४ र ५ लाई पनि साक्षर वडा घोषणा गर्ने तयारी गरिएको छ। पाँच वटै वडा साक्षर घोषणा भएपछि सम्पूर्ण ठोरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिने जनाइएको छ।
शिक्षा शाखा प्रमुख जोशीले बताएअनुसार हालसम्म मधेस प्रदेशका ६ वटा पालिकालाई साक्षर घोषणा गरिसकिएको छ भने ठोरी साक्षर घोषणा भएसँगै सातौं पालिका बन्नेछ। साथै, पर्सा जिल्लाको पहिलो साक्षर पालिका पनि ठोरी नै हुनेछ।
९८ प्रतिशत साक्षरता दरको आधारमा घोषणा
साक्षर घोषणा पूर्व ठोरी गाउँपालिका र आसमान नेपालको समन्वयमा सम्पूर्ण वडामा घर–घरमा पुगेर साक्षरता सर्वेक्षण गरिएको थियो। प्रतिवेदन अनुसार ९८ प्रतिशत स्थानीयवासी साक्षर रहेका पुष्टि भएपछि पालिकालाई साक्षर घोषणा गर्ने प्रक्रिया अघि बढाइएको हो।
विस्तृत सहभागिता र जानकारी
प्रत्येक वडाका कार्यक्रमहरूमा शिक्षा शाखा प्रमुख भुपाल जोशीले साक्षर हुनका लागि आवश्यक पर्ने १२ सूचीकृत आधारहरूको बारेमा जानकारी दिएका थिए। कार्यक्रममा प्रतीक दैनिकका सम्पादक गोबिन्द प्रताप श्रेष्ठले साक्षर पालिका घोषणा हुनुले शिक्षा, चेतना र विकासमा पर्ने सकारात्मक प्रभावबारे प्रकाश पारेका थिए।
कार्यक्रमहरूमा वडाका जनप्रतिनिधिहरू, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया, सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक–अभिभावक संघ, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले गरेका थिए।
