जगरनाथपुर गाउँपालिका वन संरक्षणमा उत्कृष्ट, १ लाख २५ हजार नगदसहित प्रथम पुरस्कारबाट सम्मानित



वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका संघीय सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयबाट वन संरक्षणमा उत्कृष्ट योगदान दिएको भन्दै नगद पुरस्कारसहित प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको छ।

वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्र, बबरमहल, काठमाडौंले देशभरका पालिकाहरूको स्थलगत अध्ययन तथा अनुगमन गरी उत्कृष्ट कार्यको मूल्यांकन गरेपछि, असार १५ गतेको निर्णय अनुसार जगरनाथपुरलाई प्रथम पुरस्कार प्रदान गरिएको हो। पुरस्कारस्वरूप १ लाख २५ हजार रुपैयाँ राशी प्रदान गरिएको केन्द्रका प्रमुख नवराज पुडासैनीले जानकारी दिए।

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी जमिनको अतिक्रमण हटाई वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ। पालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अगुवाइमा सञ्चालन भएको अभियानले सकारात्मक प्रभाव पारेको भन्दै मन्त्रालयले उच्च मूल्यांकन गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले यो सम्मान स्थानीय स्तरमै वातावरण संरक्षणप्रति देखाइएको प्रतिबद्धताको परिणाम भएको बताए।

यस सफलताले जगरनाथपुरलाई हरियाली विकास र वातावरणीय नेतृत्वको एक उत्कृष्ट नमुना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज