भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ श्रावण १, मंगलवार १८:२७ बजे

वीरगंज – १ साउन। पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फर्जी कागज तयार पारि विकास निर्माणको बजेट आफ्नै परिवारलाई बाँडेको घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।

अध्यक्ष गुप्ताले गाउँपालिका अन्तर्गत विभिन्न ५ वटा विकास निर्माणको टेण्डर प्रकाशन नै नगरि टेण्डर आह्वानको सूचना प्रकाशितको फर्जी कागज तयार गरि परिवार एवं कार्यकर्तालाई बजेट दिएको घटना बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका विरुद्ध मुद्दामा गहन रुपमा अनुसन्धान गरि रहेको बताइएको छ । यस मुद्दामा संलग्न कर्मचारीहरुको नामावली झिकाएर बयानको क्रममा रहेको अख्तियार श्रोतले जनाएको छ । यो मुद्दामा ढिलाई भएपनि  मुद्दा चल्ने निश्चित नै छ ।

आ.व. २०७९/०८० मा ठेक्का नं. १८/०७९/८०, १९/०७९/८०, २०/०७९/८०, २१/०७९/८० र २२/०७९/८० को ५ वटा ठेक्का आफ्नो भाई, चाचा, हजुरबुवा एवं पार्टीका कार्यकर्तालाई फर्जी तरिकाबाट ठेक्का दिएका थिए । यो फर्जी कामलाई सफल बनाउन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा र तत्कालीन लेखा अधिकृत संजय पटेलले साथ दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत ओझा र लेखा अधिकृत पटेल दुबै मिली यो ठेक्काको भुक्तानी समेत गरेका छन् ।

अध्यक्ष गुप्ताले आफ्नो मनोमानी रुपमा विकास निर्माणको करिब अढाई करोड बजेटको ५ वटा ठेक्का आफ्नो भाई, चाचा, हजुरबुवा एवं कार्यकर्तालाई दिएका हुन् । ठेक्का नं. १८/०७९/०८० को ५८ लाख २१ हजार ५०६ रुपैयाँ ३१ पैसाको ‘खानेपानीको लागि ट्युबबेल (चापाकल) जडान गर्ने’ ठेक्का आफ्नै चाचा पर्ने ओमप्रकाश गुप्तालाई दिएका छन् । वीरगंज – २४ रामगढवाका अनमोल निर्माण सेवालाई ठेक्का परेको बताइपनि निर्माणको काम भने अध्यक्षका चाचा ओमप्रकाश गुप्ताले गरेका हुन् ।

ठेक्का नं. १९/०७९/०८० को ४१ लाख ५६ हजार ५८४ रुपैयाँ ९ पैसाको छिपहरमाई गा.पा.-२ सम्भौता स्थित ‘स्टेडियम निर्माण’ को ठेक्का पनि चाचा ओमप्रकाश गुप्तालाई नै दिएका छन् । यो टेण्डरको ठेक्का पनि अनमोल निर्माण सेवालाई परेको बताइएपनि निर्माण कार्य भने चाचा ओमप्रकाशले नै गरेका हुन् । ठेक्का नं. २०/०७९/०८० को ३७ लाख ४७ हजार ७९ रुपैयाँ ५३ पैसाको छिपहरमाई गा.पा.-४ स्थित ‘श्री नेराप्रावि बन्जारीको ४ कोठे भवन निर्माण’ को ठेक्का अजय एण्ड प्रतिमा कन्स्ट्रकसनलाई परेको छ । जसको संचालक उनकै पार्टीका कार्यकर्ता हुन् ।

ठेक्का नं. २१/०७९/०८० को ५८ लाख २२ हजार ४३२ रुपैयाँ १ पैसाको छिपहरमाई गापा-४ तुल्सीबर्वा स्थित ‘दलित आवास भवन निर्माण’ को ठेक्का श्री अनिल आदित्य निर्माण सेवालाई पारिएको छ । जसको संचालक अध्यक्षका चाचा अवध साह कानु हुन् । चाचालाई ठेक्का पारेर योजना शाखामा कार्यरत भाई संजय साह, अर्का चाचा लालबाबु गुप्ता, कान्छो हजुरबुवा शत्रुधन गुप्ता मिलेर निर्माण कार्य गरेका हुन् ।

ठेक्का नं. २२/०७९/०८० को ४५ लाख ७० हजार ३४० रुपैयाँ ९१ पैसाको तुल्सीबर्वामै अर्को ‘दलित आवास भवन निर्माण’ को ठेक्का मुस्कान कन्स्ट्रक्सनलाई पारिएको छ । जसको संचालक कालिकामाई गाउँपालिका तिनडुबिया निवासी अजिब आलम हुन् र यिनी अध्यक्ष गुप्ताका विशेष व्यक्ति हुन् ।

यि ५ वटै विकास निर्माणको लागि टेण्डर आह्वानको सूचना प्रकाशित नै नगरि एकैपटक टेण्डर स्वीकृतको सूचना ‘सौर्य दैनिक’ पत्रिकामा २०७९।१२।१५ गते एवं २०८०।०१।०४ गते प्रकाशित गरि अध्यक्ष गुप्ताले आफ्नै भाई, चाचा, हजुरबुवा एवं पार्टीका कार्यकर्ताहरुलाई बजेट बाँडेका हुन् ।

टेण्डर आह्वानको सूचना नै प्रकाशित नगरि एकैपटक टेण्डर स्वीकृत भएको प्रकाशित सूचनामा भनिएको छ ‘यस छिपहरमाई गाउँपालिकाको कार्यालयबाट मिति २०७१।१०।१७ गते सौर्य दैनिक पत्रिकामा प्रकाशित विद्युतीय बोलपत्र आह्वानको सूचना अनुसार प्राप्त हुन आएका बोलपत्रहरु मध्ये निम्न लिखित बोलपत्र न्यूनतम मुल्याङ्कित र सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतीको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ को प्रयोजनको लागि सूचना प्रकाशन गरिएको छ ।’ तर २०७९।१०।१७ गतेको सौर्य दैनिक पत्रिकामा छिपहरमाई गाउँपालिकाको बोलपत्र आह्वानको सूचना नै प्रकाशन भएको छैन ।

यहाँ ठेक्का नं. १८, १९ र २० को ३ वटा ठेक्कालाई फर्जी तरिकाले पारिएको छ ।
यसैगरि २०८० वैशाख ४ गतेको सौर्य दैनिक पत्रिकामा टेण्डर स्वीकृतको प्रकाशित सूचनामा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालयबाट मिति २०७९।११।१९ गते सौर्य दैनिक पत्रिकामा प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार प्राप्त हुन आएका बोलपत्रहरु मध्ये निम्न लिखित बोलपत्र न्यूनतम मुल्याङ्कित र सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतीको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ को प्रयोजनको लागि सूचना प्रकाशन गरिएको छ ।’ तर २०७९।११।१९ गतेको सौर्य दैनिक पत्रिकामा यो पनि सूचना प्रकाशित गरिएको छैन ।

टेण्डर आह्वान नै नगरि स्वीकृतको सूचना प्रकाशित गरि प्रमुख प्रशासकीय अधिकृतको सहयोगमा अध्यक्षले २ करोड ४१ लाख १७ हजार ९४१ रुपैयाँको ठेक्का आफ्नो परिवारका सदस्यहरुलाई बाँडेका हुन् भने लेखा अधिकृत पटेलले भुक्तानी गरेका हुन् । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलि रहेकै अवस्थामा लेखा अधिकृत पटेलले यि योजनाहरुको भुक्तानी गरेका हुन् । अख्तियारले छानविन गरि रहेकै क्रममा लेखा अधिकृत पटेलले मेयर र प्रमुख प्रशासकीय अधिकृत ओझाको दबाबमा भुक्तानी गरेको बताइएको छ ।

दोश्रो कार्यकाल अध्यक्षमा विजयी भएका मनोज गुप्ता भ्रष्टाचारी गर्न माहिर रहेको यसैबाट पुष्टि हुन्छ । संघीयताको भरपुर फाइदा त यिनले उठाई रहेका छन् । गाउँपालिका बजेटलाई खुलेयाम बाँडफाँड गरि अध्यक्ष गुप्ताले करोडौंको सम्पत्ति आर्जन गरेका छन् । उनले वीरगंजको लिंकरोडदेखि उत्तरपट्टिको गल्लीमा आलिसान होटल खडा गरेका छन् । पालिकाको बजेट हिनामिना भरि करिब ५ करोडको लगानीमा अध्यक्ष गुप्ताले ६ तल्ले ‘होटल बिराट एण्ड प्लाजा’ संचालनमा ल्याएका हुन् । यति मात्रै कहाँ हो र ? उनले वीरगंजको श्रीपुर, रानीघाटदेखि काठमाडौंसम्म घरघडेरी जोड्न सफल भएका हुन् । उनको भ्रष्टाचार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दाको चाङ नै लागेको छ तर पैसाको आडमा पटक पटक उम्किँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्