सशस्त्र प्रहरीद्वारा २५०० प्रतिबन्धित ब्रोईलर चल्ला नियन्त्रणमा लिएर नष्ट, जानकीटोलाका साबिर मिया पक्राउ



वीरगंज, पर्सा ।  सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारतबाट चोरी पैठारी गरी ल्याइएको प्रतिबन्धित ब्रोईलर कुखुराको २५ काटुन (करीब २५०० गोटा चल्ला) नियन्त्रणमा लिई नष्ट गरेको छ।

२०७८ सालमा लागू गरिएको ब्रोईलर कुखुरा र चल्लाको पैठारीमाथिको प्रतिबन्धविपरीत भारतबाट नेपाल ल्याइँदै गरेको कुखुराका चल्लाहरू पर्सा जिल्लाको धोबिनी गाउँपालिका–१, घोडदौड क्षेत्रमा एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रहरी टोलीले नियन्त्रणमा लिएको २५०० गोटा चल्ला क्वारेन्टाइन कार्यालय, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहवरमा सशस्त्र प्रहरी बल नं. १३ गण परिसरभित्र नै आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको हो।

यस अवैध कार्यमा संलग्न व्यक्ति पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ निवासी अन्दाजी ५० वर्षीय साबिर अंसारीलाई नियन्त्रणमा लिइएको छ। साथै प्रयोग गरिएको मोटरसाइकलसहित उनलाई थप आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध पैठारी र तस्करी नियन्त्रण गर्न नियमित रुपमा निगरानी र कडा कारबाही गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज