वीरगंज। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती तथा अन्तरक्रिया गरेका छन्।
मिति २०८३/०५/२८ गते इलाका प्रहरी कार्यालय पोखरियाका कार्यालय प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्याल, भारतीय सीमा सुरक्षा बल (SSB) का प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती (Joint Patrol) गरेको हो।
सीमा क्षेत्रमा हुने अवैध वस्तु तथा सामानको तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोटको कारोबार, चोरी तथा डकैतीलगायतका आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त गस्ती सञ्चालन गरिएको सुरक्षा निकायले जनाएको छ।
संयुक्त गस्तीका क्रममा सीमा क्षेत्रको सुरक्षा अवस्था, सम्भावित अपराधका जोखिम तथा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधिबारे सुरक्षा अधिकारीबीच अन्तरक्रिया समेत गरिएको थियो।
नेपाल–भारत सीमामा अपराध तथा तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान, समन्वय र संयुक्त निगरानीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
सुरक्षा निकायका अनुसार सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नियमित गस्ती तथा अन्तरदेशीय सुरक्षा समन्वयले आपराधिक गतिविधि रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।