सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री र कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
सिरहामा सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण गर्नुका साथै सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले जानकारी दिए।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित रूपमा गस्ती, निगरानी तथा चेकजाँच गर्दै आएको जनाएको छ।


तपाईको प्रतिक्रिया !