भिस्वा, १० कात्तिक। पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
पर्साको जगरनाथपुर गाउँपालिकाको पाँडेपुर र लक्ष्मीपुरमा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुँदै सांसद शाक्यले कार्यकर्तालाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन आग्रह गरेका हुन्।
उनले आगामी वैशाखसम्म स्थानीय तह निर्वाचनको तयारीमा सरकार जुटिरहेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताले पनि अहिलेदेखि नै आवश्यक तयारी अघि बढाउनुपर्ने बताए।
स्थानीय निर्वाचनलाई लक्षित गरी सङ्गठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा पार्टीका गतिविधि गाउँगाउँसम्म पुर्याउन उनले जोड दिएका थिए। निर्वाचनमा प्रभावकारी सहभागिता सुनिश्चित गर्न कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्ने उनको भनाइ थियो।
सांसद शाक्यले दीपावली तथा छठ पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैलाई मिलेर पर्व मनाउन आग्रहसमेत गरे।
कार्यक्रममा रास्वपाका पालिकास्तरीय नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो। उनीहरूले पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीका गतिविधिबारे छलफल गरेका थिए।
पर्वको शुभकामना आदानप्रदानसँगै निर्वाचनको तयारीमा कार्यकर्तालाई सक्रिय बनाउन सांसद शाक्यले गरेको आग्रहलाई रास्वपाको स्थानीयस्तरको सङ्गठनात्मक गतिविधि अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।


तपाईको प्रतिक्रिया !