काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। सोमबार भएको पहिलो खेलमा चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको हो।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। विराटनगरका लागि इमरान शेखले ३१ बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले १७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ३३ रन जोडे। त्यस्तै, लोकेश बमले २६, एन्जेलो म्याथ्युजले १४, बासिर अहमदले १३ र शुभम रञ्जनेले १० रन बनाए।
चितवनका बलर कमल सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिए भने टम टेलर, मौसम ढकाल, ड्यान मोस्ली र रञ्जित कुमारले समान एक–एक विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
चितवनका ओपनर डेविड मलानले अर्धशतकीय पारी खेल्दै ५० बलमा पाँच चौका र पाँच छक्कासहित ७० रन बनाए। कप्तान रवि बोपाराले अविजित ३२ रन जोडे भने ड्यान मोस्लीले २९ र देव खनालले १२ रन बनाए।
विराटनगरका बलर एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले समान एक–एक विकेट लिए।
प्रतियोगिताअन्तर्गत सोमबार नै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ।
एनपीएलको यस संस्करणमा आठ टोली सहभागी छन्। प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।


तपाईको प्रतिक्रिया !