पर्सा । वीरगन्ज भन्सार कार्यालयले असोज महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो।
कार्यालयले असोज महिनाका लागि रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। निर्धारित लक्ष्यभन्दा रु २६ करोड ५८ लाख बढी राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिएका छन्।
उनका अनुसार असोज महिनामा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको छ। त्यसैगरी, खाना पकाउने एलपीजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड तथा फलफूलतर्फ स्याउ र नास्पातीको आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको छ।
भन्सार कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व सङ्कलन लक्ष्य रु ७० अर्ब ५६ करोड रहेकामा रु ६९ अर्ब १३ करोड सङ्कलन भएको छ। यस अवधिमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन केही कम रहे पनि असोज महिनामा भने कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको हो।
चाडपर्वका समयमा आयात तथा व्यापारिक गतिविधिमा हुने वृद्धिले राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।


तपाईको प्रतिक्रिया !