काठमाडौं । आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले आफ्नो तयारी तीव्र बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र नेकपा एमालेले संगठन विस्तार, जनसम्पर्क, उम्मेदवार छनोट र कार्यकर्ता परिचालनलाई प्राथमिकता दिँदै चुनाव केन्द्रित गतिविधि अघि बढाएका हुन्।
२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाख ३० गते र प्रदेश सभा सदस्यहरूको कार्यकाल २०८४ मंसिर ४ गते सकिँदैछ। निर्वाचनको औपचारिक मिति तय भइनसके पनि दलहरूले सम्भावित चुनावलाई ध्यानमा राखेर तयारी सुरु गरेका छन्।
रास्वपाले खोल्यो उम्मेदवारका आकांक्षीका लागि क्यान्डिडेट क्लब
रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूको आवेदन लिन थालेको छ। पार्टीकी सहमहामन्त्री निशा डाँगीका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यका आकांक्षीका लागि २०८३ भदौ १ गतेदेखि आवेदन खुलाइएको छ। नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडास्तरीय पदका आकांक्षीका लागि असोज ३० गतेदेखि आवेदन खुलाइएको हो।
पार्टीले मोबाइल एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ। आवेदन दिएका आकांक्षीले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण र छनोट प्रक्रियाका विभिन्न चरण पार गर्नुपर्नेछ।
रास्वपाले देशका विभिन्न जिल्लामा पुगेर पार्टीको सांगठनिक अवस्था र स्थानीय राजनीतिक परिस्थितिको अध्ययनसमेत गरेको छ। डाँगीका अनुसार स्थलगत अध्ययनबाट प्राप्त प्रतिवेदनका आधारमा क्यान्डिडेट क्लबले उम्मेदवार छनोट प्रक्रिया अघि बढाउनेछ।
निर्वाचन आयोगको तयारीअनुसार आगामी फागुनमै स्थानीय तहको निर्वाचन हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर कार्यकर्तालाई तयारी अवस्थामा रहन भनिएको उनले बताइन्। यद्यपि निर्वाचनको मिति तय गर्ने अधिकार सरकार र निर्वाचन आयोगसँग रहेकाले पार्टीले निर्वाचन चाँडो वा ढिलो गर्नुपर्ने धारणा नराखेको उनको भनाइ छ।
नेकपाको दुईमहिने जागरण अभियान चुनाव केन्द्रित
नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको छ। मंसिर २५ गतेसम्म चल्ने अभियानको उद्देश्य संगठन सुदृढीकरणसँगै स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारी गर्नु पनि रहेको पार्टीले जनाएको छ।
अभियान उद्घाटनका क्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको मिति निश्चित नभए पनि स्थानीय तह र प्रदेशको निर्वाचन नजिकिँदै गएकाले तयारीलाई अभियानसँग जोडिएको बताएका थिए।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानका क्रममा केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी तथा महिलासँग प्रत्यक्ष संवाद गर्नेछन्। नागरिकका गुनासा र आलोचना सुन्ने, सदस्यता नवीकरण तथा विस्तार गर्ने र जनताका माग सम्बन्धित निकायसम्म पुर्याउने काम पनि अभियानमा समेटिएको छ।
नेकपाले महँगी, कालोबजारी, बेरोजगारी र अशान्तिजस्ता विषय उठाउँदै सरकारका गतिविधिमाथि खबरदारी गर्ने योजना बनाएको छ। अभियानकै क्रममा सम्भावित उम्मेदवारको लोकप्रियता र चुनाव जित्ने सम्भावनाबारे पनि अध्ययन गरिने ज्वालाले बताए। अभियानबाट प्राप्त प्रतिवेदनका आधारमा पार्टीले निर्वाचनसम्बन्धी थप नीति तय गर्नेछ।
कांग्रेसले पुस–माघमै उम्मेदवारको प्रारम्भिक सूची बनाउने
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्र सम्पन्न गर्ने तयारी गरेको छ। पार्टी सभापति गगन थापाका अनुसार यसपटक निर्वाचनको मुखमा मात्रै टिकट वितरण गर्ने पुरानो शैली परिवर्तन गरिनेछ।
थापाले तल्लो तहका कार्यकर्ताको डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार पारिने र विभिन्न तहमा छलफल गरेर अन्तिम उम्मेदवार छनोट गरिने बताएका छन्।
कांग्रेसले मंसिर महिनालाई पार्टी जागरण अभियानका रूपमा उपयोग गर्ने तथा पुस र माघमा निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ। पार्टीका संगठनात्मक संरचनालाई सक्रिय बनाएर उम्मेदवारलाई जिताउने वातावरण तयार पार्ने रणनीति लिइएको कांग्रेस नेताहरूले बताएका छन्।
एमालेले पनि संगठन विस्तार र अधिवेशनलाई तीव्र बनाउँदै
नेकपा एमाले पनि स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। पार्टीका प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यका अनुसार ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत केन्द्रीय नेताहरूलाई विभिन्न पालिकामा खटाइएको छ। अभियानमार्फत सदस्यता नवीकरण, सदस्यता विस्तार र स्थानीय निर्वाचनको तयारी भइरहेको छ।
पार्टीलाई थप चलायमान बनाउन एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। भेलामा प्रदेश, जिल्ला र पालिका कमिटीका पदाधिकारी तथा विभिन्न तहका जनप्रतिनिधिसहित करिब तीन हजार ६०० अगुवा कार्यकर्ता सहभागी हुने जनाइएको छ।
एमालेले वडा र पालिका कमिटीको नेतृत्व पुनर्गठनका लागि पनि अधिवेशनको तयारी गरेको छ। आचार्यका अनुसार मंसिर २८ गते देशभर वडा कमिटी र पुस ४ गते पालिका कमिटीका अधिवेशन गर्ने कार्यक्रम छ। पार्टीले यी गतिविधिलाई स्थानीय निर्वाचनका लागि संगठन परिचालन गर्ने महत्त्वपूर्ण आधारका रूपमा लिएको छ।
निर्वाचनको मिति र संवैधानिक व्यवस्थाबारे चासो
एमालेले स्थानीय तह र प्रदेश सभा निर्वाचन संविधान तथा कानुनअनुसार हुनुपर्नेमा जोड दिएको छ। स्थानीय तह र प्रदेश सभा निर्वाचन एकैपटक गराउने विषयमा सरकारले औपचारिक धारणा सार्वजनिक नगरेको उल्लेख गर्दै एमालेले दुवै निर्वाचनलाई एउटै समयमा ल्याउन आवश्यक संवैधानिक व्यवस्थाबारे स्पष्टता हुनुपर्ने बताएको छ।
स्थानीय तह र प्रदेश सभा निर्वाचनको मिति औपचारिक रूपमा तय भइनसकेको अवस्थामा प्रमुख दलहरूले भने आफ्ना संगठन परिचालन, जनसम्पर्क र उम्मेदवार छनोटको तयारीलाई तीव्र बनाएका छन्।
रास्वपाले आवेदन र प्रतिस्पर्धात्मक छनोट प्रक्रियालाई अघि बढाएको छ भने नेकपाले जागरण अभियानमार्फत जनतासँगको सम्बन्ध सुदृढ गर्ने रणनीति लिएको छ। कांग्रेसले उम्मेदवार छनोट समयमै टुंग्याउने तयारी गरेको छ भने एमालेले संगठन पुनर्गठन र कार्यकर्ता परिचालनमा जोड दिएको छ। दलहरूका यी गतिविधिले आगामी निर्वाचनको तयारीले राजनीतिक वृत्तमा गति लिन थालेको संकेत गरेको छ।


तपाईको प्रतिक्रिया !