वीरगंज, १२ कात्तिक। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्क्सको अत्यधिक सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै बालबालिका, गर्भवती तथा सुत्केरी महिला र विभिन्न रोग भएका व्यक्तिलाई यस्ता पेय पदार्थ सेवन नगर्न आग्रह गरेको छ। स्वस्थ व्यक्तिलाई समेत यसको सेवन सीमित गर्न विभागले सुझाव दिएको छ।
विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगसम्बन्धी जानकारी सार्वजनिक गर्दै मधुमेहलगायतका रोग भएका तथा क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यसको सेवनबाट टाढा रहन सुझाव दिएको हो। इनर्जी ड्रिङ्क्समा पाइने क्याफिन तथा अन्य उत्तेजक तत्त्वले निद्रामा समस्या, मुटुको धड्कन बढ्ने, बेचैनी र रक्तचाप बढ्ने जस्ता समस्या निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको विभागले जनाएको छ।
नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्री–वितरण गरिरहेका छन्। उत्पादनको लेबल र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ।
क्याफिनको अत्यधिक सेवनले निद्राको गुणस्तरमा कमी ल्याउने, मुटुको गति तीव्र बनाउने, टाउको दुख्ने, हात काँप्ने तथा मानसिक बेचैनी बढाउने समस्या देखिन सक्छन्। विशेषगरी बालबालिकाको शरीर क्याफिनप्रति बढी संवेदनशील हुने भएकाले यसको सेवनले निद्रा र व्यवहारमा असर पार्न सक्छ।
गर्भवती महिलाले सबै स्रोतबाट प्राप्त हुने क्याफिनको कुल मात्रा ख्याल गर्नुपर्ने हुन्छ। त्यस्तै, मधुमेह भएका व्यक्तिले इनर्जी ड्रिङ्क्समा रहेको चिनीको मात्राबारे पनि सचेत हुनुपर्ने विभागको सुझाव छ।
दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव
युरोपेली खाद्य सुरक्षा प्राधिकरण र अमेरिकी खाद्य तथा औषधि प्रशासनलगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिन दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने आधार प्रस्तुत गरेका छन्।
विभागका अनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको एक क्यानमा रहेको क्याफिन उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम छ। तर, यसलाई सबै व्यक्तिका लागि सुरक्षित हुने प्रमाणका रूपमा लिन नहुने विभागले जनाएको छ। कफी, चिया तथा अन्य स्रोतबाट प्राप्त हुने क्याफिनको मात्रा पनि कुल सेवनमा जोड्नुपर्छ।
विभागले इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ। साथै, पानी, दूध, मोही तथा जुसजस्ता पेय पदार्थको विकल्पका रूपमा इनर्जी ड्रिङ्क्स प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न आग्रह गरेको छ।
लेबल पढेर मात्रै सेवन गर्न सुझाव
स्वास्थ्यका दृष्टिले इनर्जी ड्रिङ्क्सलाई नियमित रूपमा तिर्खा मेटाउने पेय पदार्थका रूपमा प्रयोग गर्नु उपयुक्त हुँदैन। यसको सट्टा पर्याप्त पानी पिउने, सन्तुलित आहार खाने र पर्याप्त निद्रा लिने बानीले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ।
यसैबीच, विभागले उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा चेतावनी तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।
इनर्जी ड्रिङ्क्सको बढ्दो प्रयोगका बीच उपभोक्ताले उत्पादनको लेबल, क्याफिनको मात्रा र स्वास्थ्यसम्बन्धी चेतावनी पढेर मात्र सेवनबारे निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी बालबालिका तथा जोखिममा रहेका समूहलाई यस्ता पेय पदार्थबाट टाढा राख्न परिवार, विद्यालय र समुदायस्तरमा जनचेतना बढाउन आवश्यक छ।


तपाईको प्रतिक्रिया !