काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका सबै पत्रकार रिहा भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकारलाई रिहा गरिएको जानकारी दिएका हुन्।
मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।
यसअघि सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षबाटै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलगायतका पत्रकारलाई पक्राउ गरेका थिए। पत्रकार पक्राउ परेपछि नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघलगायत सम्बन्धित निकायले घटनाको विरोध गरेका थिए।
घटनाप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आपत्ति जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले पनि पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
सरकारले सबै पत्रकारलाई रिहा गरेसँगै घटनाले सिर्जना गरेको तनाव तत्कालका लागि साम्य भएको छ।


तपाईको प्रतिक्रिया !