काठमाडौं, कात्तिक १४ गते। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ भने विभिन्न प्रदेशमा वर्षा भइरहेको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर बादल लाग्नेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।
सम्भावित वर्षालाई मध्यनजर गर्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यस्तै, पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार चक्रवात ‘अर्णव’को प्रभाव भने भोलि अपराह्नदेखि क्रमशः कमजोर हुँदै जानेछ।


तपाईको प्रतिक्रिया !