वीरगञ्ज। पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड तथा न्यूजरुममा सरकारी र प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
वर्षा र झरीको समेत प्रवाह नगरी प्रदर्शनमा उत्रिएका पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा तथा सञ्चारगृहमा हुने प्रहरी हस्तक्षेप तत्काल बन्द गर्न माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट र वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गर्दै पत्रकारमाथि भइरहेको धरपकड र समाचार कक्षमा हुने हस्तक्षेपप्रति आपत्ति जनाएका थिए। उनीहरूले पत्रकारलाई स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारमाध्यमलाई स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।


तपाईको प्रतिक्रिया !