काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देश जोगाउने र पार्टी जोगाउने विषयबीच आकाश–पातालको फरक हुने टिप्पणी गरेका छन्।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै प्रधानमन्त्री शाहले नेता तथा कार्यकर्ताको भूमिकालाई लिएर यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रा नेता लड्छन्, मानवताले आशा गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
प्रधानमन्त्री शाहको यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा दिएको अभिव्यक्तिको केही घण्टापछि आएको हो।
बिहीबार दिउँसो लामिछानेले पार्टीले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउन नभनेको र सरकारले आईजीपी हटाउनुको औचित्य आफैँ पुष्टि गर्ने बताएका थिए।
लामिछानेको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले फेसबुकमा गरेको टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा कसैको नाम उल्लेख गरेका छैनन्। उनको अभिव्यक्ति कुन सन्दर्भ र कसलाई लक्षित गरेर आएको हो भन्नेबारे पनि स्पष्ट पारेका छैनन्।



तपाईको प्रतिक्रिया !