२०७९ माघ २२, आईतवार १८:४८ बजे

जनकपुरधाम, २२ माघ । प्रधानाध्यापक र वडाध्यक्ष बिचको स्वार्थको लडाईंका कारण जनकपुरधामको एक विद्यालय राजनीतिक अखाडाको रुपमा परिणत भएको छ ।

जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयमा प्रधानाध्यापक र वडाध्यक्ष सरकारी बजेटको विषयलाई लिएर आरोप प्रत्यारोपमा उत्रेपछि राजनीतिक अखाडाको रुपमा परिणत भएको हो ।

सो विद्यालयमा प्राविधिक शिक्षा तर्फको भवन निर्माणका लागि आएको बजेट विद्यालयबाट फिर्ता गरेपछि प्रधानाध्यापक र वडाअध्यक्ष वीचको विवाद उत्कर्षमा पुगेको हो । यी दुईबिचको विवाद विद्यालयमा तालाबन्दीदेखि ताला फोड्नेसम्म पुगेको छ ।

विद्यालयमा सिटिइभिटि अन्तर्गतको अध्ययन अध्यापनका लागि मधेस प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । तर समयमै भवन निर्माणको काम शुरु गर्न नसकेपछि प्रधानाध्यापकले रकम फिर्ता पठाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष अर्जुन चौधरी उनको बिरोधमा उत्रिएका थिए । उनले प्रधानाध्यापकको कार्यकक्षमा ताला नै लगाए । तर सो ताला ५ दिनपछि स्थानीयवासी र प्रहरीको रोहबरमा फुटाइएको छ ।

प्रधानाध्यापक मोदनारायण राउत र वडाध्यक्ष चौधरीले एक अर्कामाथि सो बजेटमा मनोमानी गर्न खोजेको आरोप लगाएका छन् ।प्रधानाध्यापक राउतले वडाध्यक्ष चौधरीले रकमलाई आफू अनुकुल खर्च गर्न र भुक्तानी दिन दवाव दिंदा रकम फिर्ता गरेको प्रतिक्रिया दिएका छन् ।

यता, वडाध्यक्ष चौधरीले भने विद्यालय र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै रकम फिर्ता गर्नु प्रधानाध्यपाकको कार्यशैली र क्षमतामाथि नै प्रश्न उठेकाले प्रधानाध्यपकको विकल्प खोज्दा यस्तो अवस्था आएको बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष चौधरीले विद्यालय भवन निर्माणका लागि आएको बजेट अनुसार कामका लागि उपभोक्ता समिति गठन गरेर काम अगाडी बढाउन भनेपछि प्रधानाध्यापकले रकम फिर्ता गरेको आरोप लगाए ।

यता प्रहरीको रोहबरमा ताला फुटाएका स्थानीय महेन्द्र साहले वडाध्यक्ष र प्रधानाध्यापकको आपसी विवादको शिकार विद्यार्थी बनेकाले ताला फुटाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय