तरुण दल उपाध्यक्ष पप्पु यादवद्वारा एसईईमा उत्कृष्ट ६ विद्यार्थी सम्मानित



वीरगंज, पर्सा । नेपाली कांग्रेस निकट तरुण दल पर्साका जिल्ला उपाध्यक्ष तथा समाजसेवी पप्पु कुमार यादवले एसईई परीक्षामा ३.४० जिपिए भन्दा बढी ल्याएर उत्कृष्ट प्रदर्शन गर्ने छिपहरमाई गाउँपालिका–१ मिर्जापुरका ६ जना विद्यार्थीलाई विशेष सम्मान गरेका छन्।

गत शुक्रबार प्रकाशित एसईईको नतिजाअनुसार उज्जाला कुमारी यादव, अरुण कुमार यादवसहित ६ जना विद्यार्थीले ३.४० जिपिए भन्दा बढी प्राप्त गर्दै वडामा शैक्षिक उत्कृष्टता देखाएका थिए। उनीहरूको यस उपलब्धिको सम्मानस्वरूप बुधवार वीरगंज–१०, रानीघाटस्थित लक्ष्य गुरुकुल ईन्स्टीच्यूटमा आयोजित कार्यक्रममा स्टेशनरी सामग्री प्रदान गरी सम्मान गरिएको हो।

कार्यक्रममा यादवले विद्यार्थीहरूलाई स्टेशनरी हस्तान्तरण गर्दै उनीहरूको परिश्रम, अनुशासन र लगनशीलताको प्रशंसा गरे। “युवा पुस्ताको उत्साह र क्षमताले समाज रुपान्तरण सम्भव छ,” यादवले भने, “शिक्षा नै परिवर्तनको आधार हो, र हामी यसलाई प्रोत्साहित गर्दै अगाडि बढ्छौं।”

पप्पु कुमार यादव सामाजिक उत्तरदायित्वमा सधैँ अग्रसर रहने नेता हुन्। उनले शिक्षाको महत्वलाई आत्मसात गर्दै केही महिना अघि लक्ष्य गुरुकुल ईन्स्टीच्यूट स्थापना गरेका थिए, जुन गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा छ।

सम्मान कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी र शिक्षाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीहरूले आफूलाई प्रोत्साहित गरिएको महसुस भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज